स्वातन्त्रबाट चुनाव जितेलगत्तै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एमालेमा प्रवेश



१६ जेठ, डोल्पा । डोल्पाको छार्का ताङसोङ गाउँपालिका र शे(फोक्सुण्डो गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । टार्का गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर जितेका सेनाङ गुरुङ मंगलवार एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै शे(फोक्सुण्डो गाउँपालिका उपाध्यक्ष दावा सुन्दुक गुरुङ पनि एमाले प्रवेश गरेका छन् । उनीहरु दुवैजना एमालेमा प्रवेश गरेको एमाले जिल्ला सचिव नन्दवहादुर बुढाले पुष्टी गरे ।

आफू पहिले पनि एमालेमा रहेको तर टिकट दिने बेला अन्याय गरेपछि स्वतन्त्र उठेर अध्यक्ष जितेको सेनाङ गुरुङले बताए । उनले भने(स्वतन्त्र भएर जितियो तर अब एमालेकै जनप्रतिनिधि भएर काम गर्ने मन भयो र पार्टीसँग कुरा गरेर फर्किएको हुँ ।

उनले वैशाख ३१ गतेको चुनावमा एमालेका तोता गुरुङलाई २५ मतको अन्तरले पराजित गरेका थिए । उनले ३०७ मत प्राप्त गरेर बिजय पाउँदा एमालेका तोताले २८२ मत पाएका थिए भने उपाध्यक्ष भने एमालेकै टिकी गुरुङले ३५३ मत प्राप्त गरि बिजयी भएकी थिइन् ।

उनको प्रतिद्धन्द्धी पनि स्वतन्त्र उम्मेदवार सोनाम किङजोङ गुरुङ थिइन् । त्यस्तै शे(फोक्सुण्डो गाउँपालिकाको उपाध्यक्ष दावा सुन्दुक गुरुङ भने निर्विरोध निर्वाचित भएका थिए ।

गाउँपालिका अध्यक्षमा एमालेका टासी टुन्डुक गुरुङ निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्ष पनि एमाले प्रवेश गरेपछि अब शे फोक्सुण्डो गाउँपालिकामा एमालेको एकल बर्चश्व भएको छ ।

डोल्पाका २ नगरपालिका सहित ८ स्थानीय तहमध्ये एमालेले दुवै नगरपालिका र २ गाउँपालिका जितेको थियो । माओवादी केन्द्रले दुई गाउँपालिका प्रमुख जित्दा २ गाउँपालिकामा स्वतन्त्र उम्मेदवार जितेका थिए ।

डोल्पो बुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार पेम्बा गुरुङले जितेका थिए । उनी पनि एमालेका बागी उम्मेदवार थिए । तर उनी भने एमाले प्रवेश गरेका छैनन् ।

सेनाङको एमाले प्रवेशसँगै अब पहिलो चरणमा चुनाव भएका २८३ स्थानीय तहमध्ये एमालेले जितेका स्थानीय तहको संख्या १२६ पुगेको छ ।

सम्बन्धित समाचार