म र मेरो कहानीमा मेरी आमा !



अहिले म १७ बर्षमा छु । म एक सामान्य परिवारको मान्छे । २०५७ सालको भाद्र महिनाको अनिकालमा जन्मेको मान्छे म । २०६० सालमा बुवाको देब्रे हातको कान्छि औंला समाएर स्कुलको आगन पहिलो दिन टेकेको मैले ।

यसरी कक्षा १ देखि कक्षा १० सम्मको पढाई राम्रैसंग विते, एसएलसी पनि सकेर म खाँदबारी आएर कक्षा ११ र १२ मानविकी संकायबाट सामान्य कानुन र नेपाली प्रमुख विषय लिएर पढ्दा कक्षा १२ लैङ्गीक अध्ययन विषयबाट अध्ययनरत छु । पढाईको कुरा यस्तै यस्तै हो ।

बुवा माधव र आमा धनकुमारीको जेठो सुपुत्रको रुपमा जन्मीएँ । जेठो छोरो भएकै कारण म सुरु सुरुमा घरमा अलि बढि पेलिएको थिएं । घरको काम गाइ बस्तु, मेलापातको काम गर्नसम्म म सानैमा पोख्त थिएं । त्सैले पनि म सानै हुँदा खान बनाउन ठिकै बाठो थिएं र आमालाई सुरुमा पालो दिएको थिएं रे ।

बुवालाई पालो दिन भने म कक्षा ५ तिर पढ्दादेखि रे । त्यो बेला म चन्चल स्वाभवको थिएं । गाई गोरु लिएर गाउँले साथीहरुसंग जंगल जंगल घुमिन्थ्यो । चिलाउने, साल र झिङ्बुनिसम्मको विरुवाहरुलाई हुत्तेर उफ्रेर निहुराईन्थ्यो । पाङ्ग्राको लहरा थियो ठुलो चिलाउनेको रुखमा त्यसैमा मज्जाले पिङ खेलिन्थ्यो । अनि जब साँझपख हुन्थ्यो र गाई गोरु हेर्दा त कोहि मकै बारीमा, कोहि गहुँबारीमा यसरी बिताइन्थ्यो विदाको दिनमा ।

अनि स्कुल लागेको दिन पनि रमाइलो गरिन्थ्यो, साथीहरुसँग स्कुलको सिलिङमा पिङ खेलिन्थ्यो, कबड्डी, गुच्चा, तातो आलु खेलिन्थ्यो त्यो त सम्झनामा मात्र रह्यो जुनबेला ११ पढ्न वरुण क्याम्पस आईयो त्यहाँबाट ।

जुन बेला म कक्षा ८ मा पढ्दै थिएं । फागुनको तातो महिना थियो, ३ गतेको दिन थियो, सरस्वती पुजाको दिन हरेक बर्ष झैं खुब रमाईलो थियो । स्कुलमा पुजा गरिन्थ्यो हरेक बर्ष, घरबाट आमाले सिमल तरुल, घरतरुल र एक आंख्ला उखु पनि झोलामा राखिदिनु भएको थियो । त्यो झोलामा लिएर दुई भाई र दुई बहिनी र म अरु साथीहरुसंग बिहानै स्कुल पोशाक लगाएर विद्यालय तिर लाग्यौं । विहानको पुजा सकियो सबै घर फर्किए तर म भने त्यसपछि हाम्रो तिरको साना विद्युत आयोजना सफल बनाउन जनश्रमदान गर्न केहि साथीहरु र गाउँलेहरुसंग विहानै बाटो लागियो ।

निर्माणाधिन स्थलमा पुगियो र गाउँले एकजना हजुर आमा मार्फत आमाले घरबाट मेरो लागि भनेर पठाई दिनु भएको खानाको पोको खोले खान खाएं अनि दिन भरि गिटी, बालुवा आसार्ने काम गरियो । जब बेलुकाको पाँच बजेको घण्टी मोवाइलमा बज्यो तव सबै जना आजको काम यत्ति नै है भनेर घर फर्किने तरखरमा लागे म पनि पछि पछि विहान आमाले पाठाईदिनु भएको खानको थाल बटुको बोकेर म पनि घरतिर फर्किने निर्णय गरेर अरुसंग पनि भोलिको कामको योजना बनाउँदै बाटो लागें । बाटो आउँदा झपक्क साँझ परेको थियो जंगलको बाटोमा सबै जना आउँदै थियौं, गाउँकै एक जना व्यत्तिले बाटोमा सुनाएः भाई तिम्रो आमा त एक्कासी साह्रो विरामी हुनुहुन्छ, आयुर्वेद झार्दै छ, तिमी नि छीटो जाऊ ।

आमाः धनकुमारी मेवाहाङ

आयुर्वेद भनेको हाम्रो गाउँको स्वस्थ्योपचार गर्ने एउटा ठाउँ जहाको कविराजको मेडिकल पसल पनि थियो । म पनि दौडिएं । वास्तवमा गाउँलेले डोकोमा मेरो आमालाई बोकेर ओराले कुदाउँदै गरेको देखें । म पनि पछि पछि लागें । बाटोमा अलास थलास आमालाई डोकोमा बोकेर कुदाउनेहरुको अनुहार पुरै पसिनाले भिजेको थियो । जसो तसो आयुर्वेद आयुर्वेद पुगियो तर कविराज पनि तराईबासी कामले घर गएको रहेछ । आयुर्वेद पुगेर डोको विसाउने वित्तिकै आमाको हात लत्रक्क खस्यो, छाम्दा चिसो भई सकेको थियो । अब आमा रहनुभएन संसारमा, उतामा बुवा भने डाँको छोडेर रुन थाल्नु भयो । म यता कुन संसारमा पुगेछु । म पनि भोक र दिभरीको थकाईले होला मिठो निन्द्रामा झैं केहि बोल्न सकिन, आँखा रसाए । कोहि संग केहि बोलिन । संगै आएका गाउँलेहरुले नै हामीलाई सम्हालेर घरतिर ल्याए त्यति थाहा छ । अरु केहि पनि थाहा छैन ।

त्यो रात कसरी वित्यो थाहा भएन । विहान मात्र थाहा पाएं कि आमा घर भित्रको कुनामा सेतो कपडाले बेरिनु भएको रहेछ । अब म जेठो छोरा भएकै कारणले आमाको अन्तिम संस्कारमा अघि बढ्नु पर्ने । पुर्खाले भने बमोजिम सबै गरें । त्यो मेरो जिम्मेवारी पनि त हो नि । यसरी आमालाई वदाई गरको कुरा पनि हिजो जस्तो लाग्छ, अब आमा सम्झनामा मात्र हुनुहुन्छ । यहि अर्थमा पनि मैले अबब हरेका छोराछोरीमा आमालाई मेरै आमा ठान्नु बाहेक अरु आमा छैन मेरो । आफन्त र नातागोता नै मेरो आमा । साथी संङ्गीको आमा नै मेरो आमा । आमा त केवल जन्मको आमा यतिमा नै संस्कार सकियो ।

हुन त मेरो आमा नभएको हैन, अहिले सानीमा हुनुहुन्छ । वहाँको माया पनि कम हुनुहुन्न । मेरो साथीको आमा हुनुहुन्छ वहाँ पनि मेरो आमा भन्दा कम हुनुहुन्न । सबैले साेंच्छन् र मलाई भन्छन् सानी आमाले तिमीहरुलाई राम्रै गर्नुहुन्छ ? भनेर तर उनीहरुले सोंचेभन्दा फरक उत्तर दिन्छु । सानी आमाको माया साथ उत्तिकै छ । मात्र फरक यत्ति हो । जन्मको आमा हुनुहुन्न । वहाँलाई हेरेर नै चित्त बुझाउन्ँछु । नबुझाएर पनि के गर्नु फर्किनु हुन्न, आमा ।

आमा छोराको प्यार, अब त म र मेरो कहानीमा बाहेक अउनुहुन्न त्यो नि थाहा छ । ………

लेखक मेवाहाङको प्रकाशोन्मुख कृति ‘बालक्लवसम्म म’बाट साभार एक अंश । यस लेखको पुर्णपाठ कृतिमा पढ्न सकिनेछ ।

सम्बन्धित समाचार