खुला गजल प्रतियोगितामा गुरुङ प्रथम



ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आयोजित खुला गजल प्रतियोगितामा रोशन गुरुङ प्रथम हुनुभएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको गजल प्रतियोगितामा मिक्वाखोला गाउँपालिका–४ साँबाका गुरुङ प्रथम हुनुभएको हो ।

यस्तै, प्रतियोगितामा फुङ्लिङ नगरपालिका–६ का नवराज आचार्य द्वितीय र फुङ्लिङ नगरपालिका–२ का तुकेन्द्र मादेन तृतीय हुनुभएको छ । प्रथम हुने गुरुङले १० हजार रुपियाँ, द्वितीय हुने आचार्यले पाँच हजार र तृतीय हुन सफल मादेनले तीन हजार रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नुभएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईका अनुसार अम्बिका हाङ्बाङ, मानसिंह राई र राजमणि प्याकुरेल निर्णायक मण्डलमा रहनुभएको थियो ।

चन्द्र मादेन ‘आन्छन्’ साहित्यिक पुरस्कारअन्तर्गत खुल्ला गजल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार विगत केही वर्षअघि हरेक वर्ष विभिन्न विधामा प्रतियोगिता आयोजना गरी साहित्यिक पुरस्कार वितरण गरिँदै आएको छ ।

फुङ्लिङ नगरपालिका–४ घर भई हाल हङ्कङमा बस्दै आउनुभएका चन्द्र मादेन ‘आन्छन्’ ले ताप्लेजुङस्थित कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानमार्फत तीन लाख रुपियाँको अक्षयकोष स्थापना गरी दिनुभएको हो । २०७३ सालमा स्थापना गरिएको सो अक्षयकोषको ब्याजबाट कार्यक्रम आयोजना गरी पुरस्कार वितरण हुँदै आएको छ ।

 

सम्बन्धित समाचार