साहित्यकार पाख्रीबासे कान्छोको उपन्यास ‘बाउ’ सार्वजनिक



खाँदबारी । साहित्यकार ताराबहादुर बुढाथोकीको आठौं कृति ‘बाउ’ उपन्यास विमोचन भएको छ । बुढाथोकीको आख्यान कृति नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा प्रतिष्ठानमा उपकुलपति डाक्टर जगमान गुरुङले विमोचन गर्नुभएको हो ।

प्रमुख अतिथि गुरुङले बुढाथोकीको बाउ उपन्यासमार्फत संखुवासभा र त्यस आसपासको संस्कृति र इतिहासलाई सुन्दर ढंगले पस्किएको बताउनु भयो । कार्यक्रममा बुढाथोकीको कृति बाउको विषयमा डा. अम्बिका अर्याल, प्रा.डा. झमक शर्मा, प्रा.डा. हेमचन्द्र शर्मा र प्राज्ञ लक्ष्मी मालीले टिप्पणी गर्नुभएको थियो । कृतिकार बुढाथोकीले आफूले ६ महिनाकै उमेरमा आमा गुमाएको भन्दै आमा र बुबा दुवैबाट पाउने माया र अभिभावकत्व बाबुबाट पाएको बताउनु भयो ।

पेशाले माध्यमिक तहको स्थायी शिक्षक रहनुभएका बुढाथोकीको यो आठौं तथा उपन्यासमा दोस्रो कृति हो । नेपाल सरकारबाट २०७४ सालमा राष्ट्रिय प्रतिभा पुरस्कारसमेत प्राप्त गरिसक्नुभएका बुढाथोकी मकालु साहित्यिक समाज संखुवासभाका अध्यक्षसमेत हुनुहुन्छ ।

संखुवासभा कलाकार चौतारीले आयोजना गरेको कार्यक्रमको अध्यक्षता इतिहास तथा संस्कृतिविद् प्रा.डा. रमेश ढुंगेलले गर्नुभएको थियो ।

सम्बन्धित समाचार