बुचुङ तामाङ, जसले बाबुरामको पार्टीलाई ‘नील’ हुनबाट बचाए



२८ जेठ, काठमाडौं । ‘राजनीति गरेको त छैन, हल्का चासो मात्र राख्थेँ, जब स्थानीय निर्वाचनको घोषणा भयो, नयाँ शक्तिबाट टिकट लिएर उम्मेदवारी दर्ता गरेँ, प्रतिस्पर्धामा गइयो, जनताले पत्याए, भोट हाले, जितियो’ रुसुवाको पार्वतीकुण्ड गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष २९ वर्षीय बुचुङ तामाङको कथा यत्ति हो ।

माओवादी केन्द्र छाडेर डा. बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीले पहिलो चरणको स्थानीय चुनावमा नराम्रो धक्का खायो । भट्टराईकै जिल्ला गोरखामा पनि हार्‍यो । तर, विकट रसुवाको पार्वतीकुण्डमा बुचुङले जिते । र, आफ्नो मात्र होइन, डा। भट्टराई र नयाँ शक्तिको समेत ‘नाक’ जोगाए ।

आखिर नयाँ शक्ति पार्टीलाई ‘नील’ हुनबाट जोगाउने को हुन् त बुचुङ ? कसरी जिते उनले चुनाव ? यो जान्न हालै धुलिखेलमा भएको तीन नम्बर प्रदेशका स्थानीय तह प्रमुख र उपप्रमुखको अभिमुखीकरण तालिममा हामीले उनलाईर् खोज्यौं ।

बुचुङ आफ्नै भेषमा धुलिखेल आएका रहेछन्, जुन अरुका लागि नौलो थियो । बाक्लो जस्तो देखिने उनको ड्रेस देखेपछि हामीले सोध्यौं, गर्मी हुुँदैन ? उनले हाँदै भने, एकदम शीतल हुन्छ । बरु टाउको खुला भएर गर्मी भइरहेको छ ।’

हँसिलो स्वाभावका उनले आफ्नो कपडा देखाउँदै भने, तपाईहरुले लगाउने हो भने त सुुरुमा त घाउ नै हुन्छ होला है ?’ केही अनौपचारिक कुराकानीपछि हामी फेरि उनको राजनीतिक यात्रामा केन्द्रित भयौं ।

०६४ मा गाविसमा सहायकको जागिर सुरु गर्नुअघि उनी एक पटक माओवादीको आन्दोलन हेर्न काठमाडौं आएका रहेछन् ।

त्यहीबेला उनले डा. बाबुराम भट्टराईलाई बालाजुमा देखे । अहिलेसम्म यो नै बाबुराम र उनको देखभेट हो । गाविसमा ९ वर्षसम्म जागिर गर्दा राजनीतिक कार्यक्रमहरुमा खुलेर हिँड्ने कुरा भएन । तर, उनमा चासो चाहिँ थियो ।

स्थानीय चुनाव घोषणापछि नयाँ शक्तिका जिल्ला संयोजक एवं पूर्वसांसद प्रेम तामाङको नजर बुचुङमाथि पर्‍यो । ९ वर्षसम्म गाविसमा बसेर काम गरेका र स्थानीय जनतामाझ घुलमिल भएका युवा बुचुङ तामाङलाई उठायो भने केही होला भन्ने लागेपछि उनले नयाँ शक्तिबाट टिकट पाए ।

बाबुराम भट्टराई नेतृत्वको सरकारले काठमाडौंमा सडक विस्तार गरेको उनलाई छोएको रहेछ । उनी भन्छन्, बाबुरामले ‘केही गर्छ कि भन्ने त्यही बेलादेखि नै लागेको थियो । पार्टीले आर्थिक नीति पनि ल्यायो । यो सुनेपछि म आफू पनि नयाँ शक्ति पार्टीमा सामेल भएर प्रयास गर्छु भनेर टिकट लिने निर्णय गरेँ ।’

आफ्नो चुनावी यात्राबारे बुचुङ भन्छन्, ‘मैले राजनीति गरेको त छैन नि, हल्का चासो मात्र राख्थेँ, ९ वर्षसम्म गाविसमा काम गरेँ । जब स्थानीय निर्वाचनको घोषणा भयो, नयाँ शक्तिबाट टिकट लिएर उम्मेदवारी दर्ता गरेँ, प्रतिस्पर्धामा गइयो, जनताले पत्याए, भोट हाले, जितियो ।’

हामीले सोध्यौं, हिजो गाविसमा काम गरेको मान्छे, यसले जित्यो भने काम गर्छ भनेर भोट दिए कि नयाँ शक्तिका कारण भोट दिए रु

भन्छन्, ‘मुख्य त पार्टी नै हो । तर, यसले हिजो काम गरेको छ, सहयोग गरेको छ भनेर पनि भोट आयो होला ।’

चुनाव प्रचारका क्रममा आफूले अन्य उम्मेदवारले जस्तो ‘म यो गर्छु, त्यो गर्छु’ भनेर बाचा नगरेको उनले सुनाए ।

पार्वतीकुण्डको विकास गर्न सक्छु भिन्ने सोचले राजनीतिमा आएको भन्दै उनले स्थानीय लवजमा भने, ‘भोट दिनुस् र म जित्यो भने सबै मिलेर सरसल्लाहले विकासका काम अघि बढाउँछु भनेको थिएँ ।’

अब त्यस अनुसार अघि बढ्ने उनले सुनाए ।

यसका लागि पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक भट्टराईलाई भेट्ने र आफूलाई केही आइडिया माग्ने सोचमा छन् उनी । अब समय मिलाएर भेट्छु र भन्छु, चुनावमा पार्वतीकुण्डबाट नयाँशक्तिको नाम राखेँ, अब तपाईको भिजन अलिकति पार्वतीकुण्डतिर ढालिदिनू । यो गाउँपालिकालाई नमुुना बनाउन चासो दिएर सहयोग गर्नुभयो भने पार्वतीकुण्डको विकास हुुने थियो ।’

केन्द्रबाट आउने बजेट पारदर्शी रुपमा खर्च गर्ने र स्थानीय स्रोत जुटाएर गाउँपालिकाको विकास गर्ने उनको योजना छ ।

त्यसैगरी तामाङ हेरिटेजमा पर्यटकलाई भित्र्याउने र हाइड्रो पावरबाट पनि आर्थिक स्रोत जुटाउन सकिने उनले सुनाए । अनलाइनखबर

सम्बन्धित समाचार