मोरङको दुई नगरमा माओवादी केन्द्र र लिम्बुवानवीच तालमेल



पथरी– मोरङको पथरीशनिश्चरे र बेलबारी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र संघीय लिम्बुवान मञ्च नेपालवीच तालमेल गर्ने सहमति भएको छ । आइतबार मनोनयन दर्तापछि कुमार लिङ्देनले नेतृत्व गर्दै आएको लिम्बूवान र माओवादी केन्द्रवीच तालमेल गर्ने विज्ञप्ति प्रकाशन गरी जनाएको हो ।

माओवादीको तर्फबाट केन्द्रीय आयोजक समिति सदस्य बालकुमार मगर (बिकास) र संघीय लिम्बुवान मञ्च नेपालको तर्फबाट केन्द्रीय सचिवालय सदस्य भबिराज लिम्बूले हस्ताक्षर गरेर संयुक्त विज्ञप्ति प्रकाशन गरी सो कुरा जानकारी गराएको हो ।

दुई पार्टीवीच गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र पहिचानको एजेण्डा मिलेको भन्दै पथरीशनिश्चरेमा माओवादी केन्द्रको तर्फबाट मनोनयन गरेका मेयरमा जहरमान लिम्बू, उपमेयरमा टंकमाया गौतमलाई साझा उमेद्वारको रुपमा लिने जनाएको हो ।

त्यसैगरी, बेलबारीमा तिलकप्रसाद राई र उपमेयरमा सुशिला भट्टराईलाई दुवै पार्टीले साझा उमेद्वारको रुपमा विजय गराउने विज्ञप्तिमा उल्लेख छ । राई र भट्टराई माओवादी केन्द्रको तर्फबाट मनोनयन गरेका हुन् । स्थानीय समस्या सुकुम्बासी समस्या समाधान गर्न पनि पथरीशनिश्चरेमा जहरमान लिम्बू र बेलबारी नगरमा तिलकप्रसाद राईको नेतृत्व आवश्यक रहेको उक्त विज्ञप्तिमा उल्लेख छ ।

नगरका वडाहरुमा भने दुवै पार्टीले आआफ्नै उमेद्वारको मनोनयन गरेको बुझिएको छ । लिम्बूवान मञ्च जनमुक्ति पार्टीको घर चिन्ह लिएर निर्वाचनमा सहभागि भएको हो । तालमेलको छलफलमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कुसल लिम्बूको समेत सहभागिता रहेको थियो ।

मोरङकै मिक्लाजुङ्ग गाउँपालिकामा पनि लिम्बुवानका महासचिव अशोक चेम्जोङसँग तालमेलको लागि छलफल भइरहेको माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा मोरङ जिल्ला इनर्जाच कुशल लिम्बूले बताए ।

सम्बन्धित समाचार