प्रदेश नम्बर ५ मा पहिलो बन्ने माओवादी केन्द्रको दाबी, यस्तो छ हिसाब



१० असार, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर पाँच का ९९ स्थानीय तहमध्ये कम्तिमा ४० वटामा जित्ने लक्ष्य राखेको छ । माओवादीका शीर्ष नेताहरु चुनावी परिणामको लक्ष्य पूरा गर्ने रणनीतिसहित प्रदेशका बिभिन्न जिल्लाहरुमा परिचालित छन् ।

माओवादीले ५ नम्बर प्रदेशमा वर्षमान पुन ‘अनन्त’, टोपबहादुर रायमाझी, चक्रपाणि खनाल ‘बलदेव’, डिलाराम आचार्य, गिरिधारीलाल न्यौपाने, सुदर्शन बराल र हकिकुल्ला खाँलगायतका नेताहरूलाई परिचालन गरेको छ ।

प्रदेश नम्बर पाँचका माओवादी इञ्चार्ज वर्षमान पुन ‘अनन्त’ले ४० स्थानीय तह जित्दै पाँच नम्बर प्रदेशमा पहिलो हुने लक्ष्य लिएको बताए । तर, एमाले र कांग्रेसका नेताहरुले पनि यो प्रदेशमा आफूहरु पहिलो बन्ने दाबी गरेका छन् ।

पाँच नम्बर प्रदेशमा ४ उपमहानगरपालिकासहित २९ नगरपालिका र ६६ गाउँपालिका छन् ।

कुन जिल्लामा माओवादी कस्तो ?

माओवादीले जनयुद्धको आधार क्षेत्र रुकुम र रोल्पामा शतप्रतिशत नतिजा निकाल्ने लक्ष्य राखेको छ । ६ नम्बर प्रदेशभित्र पर्ने रुकुमका सात स्थानीय तह जितिसकेको माओवादीले पाँच नम्बर प्रदेशभित्र पर्ने सिस्ने, भुमे र पुथाउत्तरगंगा गाउँपालिका पनि जितेर रुकुम ‘क्लिनस्वीप’ गर्ने रणनीतिमा छ ।

रुकुमको जस्तै रोल्पाका पनि १० वटै स्थानीय तह जित्ने माओवादीको लक्ष्य छ । तर, माओवादीविरुद्ध रोल्पाका केही स्थानीय तहमा कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका छन् ।  थवाङमा माओवादीसँग कांग्रेस, एमाले र नेकपाको गठवन्धनसँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

यसैगरी माडीमा कांग्रेस र एमालेले तालमेल गरेका छन् भने त्रिवेणी गाउँपालिकामा वागी उम्मेदवार कुलानन्द गिरी मालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छन् । तर, लक्ष्यअनुसारकै परिणाम निस्किनेमा विश्वस्त रहेको माओवादी नेता दिपेन्द्र पुन ‘सिजल’ले बताए ।

बर्दियामा पनि शतप्रतिशत नतिजा निकाल्ने लक्ष्य माओवादी केन्द्रले राखेको छ । तर, स्थानीय भूगोलमा क्रियाशील माओवादी नेताहरु भने गुलरिया र बाँसगढीमा जित निकाल्न कठिन हुने बताउँछन् ।

गुलरिया नगरपालिकामा माओवादीका मेयर उम्मेदवार गेहेन्द्र ढकालले भने आफ्नो जित सुनिश्चित रहेको दाबी गरे ।

दोस्रो संविधानसभा चुनावमा माओवादीले बर्दियाका २ वटा निर्वाचन क्षेत्र जितेको थियो । बर्दियामा थारु समुदाय निर्णायक भएकाले माओवादीले स्थानीय चुनावमा अधिकांश थारु नेतालाई उम्मेदवार बनाएको छ । अहिलेको चुनावमा बर्दियाका कम्तिमा ४ स्थानीय तह जित्ने माओवादीको दाबी छ ।

बाँकेमा माओवादीले नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकालाई विशेष जोड दिएको छ । नेपालगञ्जमा माओवादी उम्मेदवार दामोदर आचार्य र कोहलपुरमा अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहेका नरेन्द्र न्यौपाने उम्मेदवार छन् । नेपालगञ्जको तुलनामा कोहलपुरको स्थिति राम्रो रहेको स्थानीय माओवादी नेताहरुको दाबी छ । कोहलपुरमा उत्तरी क्षेत्रका पहाडी र हिमाली जिल्लाबाट बसाईं सरेर आएकाहरुको भोट तान्न सके चुनाव जित्ने माओवादीको विश्लेषण छ ।

जुम्लाबाट बसाईं सरेर कोहलपुर झरेका माओवादी युवा नेता न्यौपाने पनि अहिले सोही विश्लेषणअनुसार मत थप्ने कोशिसमा छन् । न्यौपाने भन्छन्, ‘हाम्रो अहिलेको संगठित मतदाताभन्दा ३ हजार भोटमात्रै थप्न सक्यौं भने पनि चुनावमा सकारात्मक परिणाम निकाल्न सक्छौं ।’

प्रदेश नम्बर पाँचको राजधानी दाङलाई बनाउने घोषणा गरेको माओवादी केन्द्रले घोराही उपमहानगरसहित पाँच स्थानीय तह जित्ने लक्ष्य राखेको छ । दाङको घोराही उपमहानगरपालिकासहित, बंगलाचुली, राप्ती, शान्तिनगर, राजपुर र गढवा गाउँपालिका जित्ने माओवादीको लक्ष्य हो ।

उम्मेदवार घोषणा गर्ने बेलासम्म तेस्रो स्थानमा रहेको विश्लेषण गरेको माओवादीले अहिले दोस्रो स्थानमा उक्लिएको दाबी गरेको छ । मतदानको दिनसम्म पहिलो बनेर पाँच स्थानीय तह जित्ने आन्तरिक रणनीति माओवादीको छ ।

दाङ माओवादीका नेता हेमराज शर्मा ‘डायमण्ड’ले ०६४ सालको जस्तै परिणाम ल्याउने गरी तयारीमा जुटेको अनलाइनखबरलाई बताए । ०६४ सालको पहिलो संविधानसभा चुनावमा माओवादीले दाङका सबै पाँचवटै निर्वाचन क्षेत्र जितेको थियो । तर ०७० सालको दोस्रो संविधानसभा चुनावमा भने सबै निर्वाचन क्षेत्र कांग्रेसले जितेको थियो ।

दाङमा १० स्थानीय तह छन् । राप्ती पारीको गढवा गाउँपालिकामा पनि पछिल्लो समय माओवादीको प्रभाव राम्रो भएको भनिए पनि आफ्ना उम्मेदवार लुमाकान्त न्यौपाने विजयी हुनेमा भने माओवादी विश्वस्त छैन ।

गढवामा कांग्रेसका डिल्ली आचार्य वागी उम्मेदवार छन् । उनी तत्कालीन गंगापरस्पुर गाविसको पूर्वअध्यक्ष थिए । विगतमा पनि स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष जितेका आचार्यले कांग्रेससँगै माओवादीकै पनि भोट काट्ने अनुमान गरिएको छ । यदि यो अनुमान सहि निस्किएमा एमालेको पक्षमा पासा पल्टिने छ । एमालेले सहजराम यादवलाई उम्मेदवार बनाएको छ । उनी तत्कालीन गोबरडिहा गाविसको पूर्वअध्यक्ष हुन् ।

गोबरडिहा, गंगापरस्पुर, गढवा र कोइलाबास गाविसलाई गाभेर गढवा गाउँपालिका बनाइएको छ ।

प्युठानमा माओवादीले जित्ने दाबी गरेको स्थानीय तहको संख्या तीन छ । प्युठान नगरपालिका, झिम्रुक गाउँपालिका र माण्डवी गाउँपालिकामा जित्ने उसको दाबी छ । प्युठान नगरपालिकामा माओवादीको मेयर र राजमोको उपमेयरको उम्मेदवार छन् । अरुमा माओवादी एकल प्रतिस्पर्धामा छ ।

प्युठान नगरपालिकासहित स्वर्गद्वारी नगरपालिका र गौमुखी गाउँपालिकामा माओवादी र राजमोको तालमेल छ । स्वर्गद्वारी र गौमुखीमा राजमोलाई प्रमुख पदमा सघाएर माओवादीले उपप्रमुखमा उम्मेदवार उठाएको छ ।

सरुमारानी र मल्लरानी गाउँपालिकामा पनि माओवादीका प्रमुख पदका उम्मेदवार छन् तर, ती गाउँपालिकामा जित हात पर्नेमा माओवादी आफै विश्वस्त छैन ।

नौबहिनी गाउँपालिकामा कांग्रेस र माओवादीले चार-चार वडा बाँडेर तालमेल गरेका छन् ।

कपिलवस्तुमा माओवादी केन्द्रले कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकामा एकल जित सुनिश्चित रहेको दाबी गरेको छ । बुद्धभूमि र शिवराज नगरपालिका तथा यशोधरा गाउँपालिकामा भने तीव्र प्रतिस्पर्धा हुने प्रारम्भिक अनुमान छ ।

वाणगंगा नगरपालिकामा कांग्रेसलाई मेयर दिएर उपमेयरमा उम्मेदवारी दिएको माओवादीले त्यहाँ पनि गठबन्धनको जित हुने दाबी गरेको छ ।

माओवादी केन्द्रीय कार्यालयका नेता चक्रपाणी खनाल ‘बलदेव’ले अनलाइनखबरसँग भने, ‘कृष्णनगर र विजयनगरमा हाम्रो जित सुनिश्चित भइसकेको छ । गठबन्धन भएका स्थानीय तहहरुमा पनि जित्छौं । अन्य चार स्थानीय तहमा यति धेरै प्रतिस्पर्धा छ कि अहिल्यै भन्न सकिने अवस्था छैन । तर, थोरै मिलाउन सकियो भने त्यहाँ पनि जित्छौं ।’

त्यसो त कपिलवस्तुको प्रमुख व्यापारिक केन्द्र कृष्णनगर नगरपालिकामा संघीय समाजवादी फोरम नेपालले पनि जित्ने दाबी गर्दै आएको छ ।

अर्घाखाँचीका भूमिकास्थान नगरपालिका र मालारानी गाउँपालिका गरी दुई स्थानीय तह जित्ने माओवादीको दाबी छ । यी दुबै स्थानीय तहमा प्रमुख पद माओवादीले र उपप्रमुख पद कांग्रेसले लिएर तालमेल गरेका छन् ।

अर्घाखाँचीका तीन नगरपालिका र एक गाउँपालिकामा माओवादीले कांग्रेससँग तालमेल गरेको छ । सन्धीखर्क र शितगंगा नगरपालिकामा कांग्रेसले मेयर तथा माओवादीले उपमेयर लिएर चुनावमा होमिएका छन् । छत्रदेव र पाणिनी गाउँपालिकामा भने दलहरु एक्लाएक्लै प्रतिस्पर्धामा छन् ।

गुल्मीका १२ स्थानीय तहमध्ये चार स्थानीय तह जित्ने माओवादीको लक्ष्य छ । चन्द्रकोट, मालिका, धुर्कोट र रुरु गाउँपालिका माओवादीले जित्ने भनेर दाबी गरिएका स्थानीय तह हुन् ।

चन्द्रकोट र मालिकामा माओवादी एकल प्रतिस्पर्धामा छ भने धुर्कोट र रुरुमा कांग्रेससँग तालमेल गरेको छ । धुर्कोट र रुरुमा माओवादीले अध्यक्ष तथा कांग्रेसले उपाध्यक्ष पद लिएर तालमेल गरेका छन् ।

कालीगण्डकी, छत्रकोट र सत्यवतीमा कांग्रेसलाई अध्यक्ष पदमा समर्थन गरेर माओवादीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छ ।

त्यसैगरी मदाने गाउँपालिकामा माओवादी र राप्रपाबीच तालमेल छ । मदानमा माओवादीले अध्यक्ष र राप्रपाले उपाध्यक्ष पद लिएर निर्वाचनमा होमिएका छन् ।

पाल्पाका आठ स्थानीय तहमध्ये तीन वटामा जित्ने माओवादीले लक्ष्य लिएको छ । तिनाउ, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा माओवादीको जित सुनिश्चित रहेको माओवादी पाल्पा जिल्ला संयोजक गिरबहादुर थापा ‘बिरबल’ले बताए ।

रिब्दीकोटमा माओवादी, राप्रपा र जनमोर्चाको तालमेल छ । यहाँ माओवादीले अध्यक्ष, राप्रपाले उपाध्यक्ष र जनमोर्चाले वडाहरुमा पद लिएर तालमेल गरेका छन् । रिब्दीकोटमा एमालेसँग कडा प्रतिस्पर्धा हुने माओवादीको विश्लेषण छ ।

निस्दी र बगनासकाली गाउँपालिकामा कांग्रेसले अध्यक्ष तथा माओवादीले उपाध्यक्ष पद लिएर चुनावी तालमेल गरेका छन् । निस्दीका वडाहरुमा पनि कांग्रेस-माओवादी तालमेल छ । निस्दीमा एमालेसँग तिव्र प्रतिस्पर्धामा कांग्रेस-माओवादी गठबन्धनले जित्ने माओवादी पाल्पा जिल्ला संयोजक थापाले दाबी गरे ।

तिनाउ गाउँपालिकामा उपाध्यक्ष जित्ने माओवादीको अनुमान छ । तिनाउको उपाध्यक्षमा माओवादीले दिलकुमारी रोका मगर ‘जानुका’लाई उम्मेदवार बनाएको छ ।

रामपुर नगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी नै नदिएको माओवादीले तानसेन नगरपालिकाको मेयरमा भने प्रतिक्षा सिंजालीलाई उम्मेदवार बनाएको छ ।

रुपन्देहीका १६ वटै स्थानीय तहमा अन्य दलको तुलनामा माओवादी कमजोर छ । विगतको तुलनामा आफ्नो प्रभाव बढेको निष्कर्ष निकालेको माओवादीले रुपन्देहीमा सम्मानजनक भोट आउने अपेक्षा गरेको छ ।

सिद्धार्थनगर नगरपालिकासहित रोहिणी, ओमसतिया र मर्चवार गाउँपालिकालाई माओवादीले टार्गेट गरेको छ । बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा माओवादीले कांग्रेससँग तालमेल गरेको छ । कांग्रेसले मेयर र माओवादीले उपमेयर लिएर तालमेल गरेका छन् । तालमेल भएका स्थानीय तह जित्ने माओवादीको लक्ष्य छ ।

सिद्धार्थनगर नगरपालिकामा राप्रपासँग तालमेल गर्न असफल भएको माओवादीले सैनामैना नगरपालिकामा कांग्रेससँग तालमेलको प्रयास जारी राखेको छ । माओवादी नेता रामप्रसाद बन्जाडे ‘टंकमणी’ले अनलाइनखबरसँग भने, ‘हाम्रा उम्मेदवार उठाएका ठाउँमा पनि तालमेलको प्रयास सफल भएमा तालमेलअनुसार नै भोट हाल्न तयार छौं ।’

मुस्लिम समुदाय निर्णायक हुने सिद्धार्थनगर नगरपालिकामा राप्रपा बलियो मानिएको छ । माओवादीले मुस्लिम समुदायको भोट तान्ने रणनीतिअनुसार मुस्लिम समुदायकै फैज अहमद खाँलाई मेयरको उमेदवार बनाएको छ ।

नवलपरासीका तीन नगरपालिका र चारवटा गाउँपालिकामा दोस्रो चरणमा चुनाव हुँदैछ । जिल्लाका १५ स्थानीय तहमध्ये ८ वटामा गत बैशाख ३१ गते निर्वाचन सम्पन्न भइसकेको छ ।

दोस्रो चरण अन्तर्गत असार १४ गते रामग्राम, बर्दघाट र सुनवल नगरपालिका तथा सरावल, प्रतापपुर, पाल्हिनन्दन र त्रिवेणी सुस्ता गाउँपालिकामा चुनाव हुँदैछ । तर, माओवादीको राम्रो प्रभाव भएको भनिएका स्थानीय तह नवलपरासीमा छैनन् ।

पहिलो चरणको चुनावमा माओवादीले कावासोती नगरपालिकाको १६ वडामा अध्यक्षसहित पूरै प्यानल र देवचुली नगरपालिकाको १६ वडाको अध्यक्ष पदमात्र जितेको थियो ।

सम्बन्धित समाचार