संखुवासभा पुुगेर सिंहले भने-‘काँग्रेसले गरेर देखाई सकेको छौँ’



संखुवासभा: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान निर्माण गर्ने पार्टीले नै आर्थिक विकास गर्ने बताएका छन् ।

नेपाली काँग्रेस संखुवासभाले आज तुम्लिङटारमा आयोजना गरेको चुनावी आमसभामा बोल्दै काँग्रेसका नेता सिंहले नेपालका हरेक क्रान्ति काँग्रेसको नेतृत्वमा भएको भन्दै अब आर्थिक विकासपनि काँग्रेसको नेतृत्वमा हुने बताए। उनले भने, “काँग्रेसले मुलुकलाई धेरै ठूला आन्दोलन गरेर जोगाएको छ, धेरै योगदान गरेको छ त्यसैले कुन पार्टीलाई भोट दिने भन्ने कुरा तपाईँहरु आफै विचार गर्नुहोस् ।”

नेता सिंहले राणा शाषन होस्, पञ्चायत शाषन होस् या शाही  शाषन होस् सबैलाई अपदस्थ गरी मुलुकलाई यो स्थानमा पु¥याउने पार्टी काँग्रेस भएकाले काँग्रेसलाई मत दिन सम्पूर्ण मतदातालाई आग्रह गरे ।

पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले २०६२÷०६३ सालको शान्ति प्रक्रियामा ल्याउन गिरीजाप्रसाद कोइरालाले गरेको योगदान र दोस्रो संविधानसभामार्फत संविधान निर्माण गर्न सुशील कोइरालाले खेलेको भूमिका स्मरण गर्न सबैलाई आग्रह गरे । उनले देश जोगाउने हो भने १४ गते हुने स्थानीय तहको निर्वाचनमा रुख चिन्हमा भोट हाल्नसमेत सबैसमक्ष अपिल समेत गरे ।

काँग्रेस संखुवासभा क्षेत्र नं २ का सांसद दिपक खड्काले देशको विकास गर्ने हो भने काँग्रेसलाई भोट दिनुपर्ने बताए। उनले भने, “देशका हरेक परीवर्तन काँग्रेसले गरेको छ अब आर्थिक सम्बृद्धिपनि काँग्रेसले नै गर्छ ।”सांसद तारामान गुरुङ, जिल्ला सभापति दिपनकुमार श्रेष्ठलगायतले सङ्खुवासभाको विकासका लागि काँग्रेस जिताउनुपर्ने बताए । सो सभामा विभिन्न राजनीतिक दलका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए ।

सम्बन्धित समाचार