माओवादीको चुनावी र्‍यालीलाई लक्षित गरी बम विस्फोट, ३ घाइते



११ असार, नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको सुनवलमा माओवादीको चुनावी र्‍यालीलाई लक्षित गरी बम विष्फोट भएको छ । विष्फोटमा ३ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचार गर्न बुटवल लगिएको छ । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य भविश्वर तिवारी ‘आजाद’ले बम विस्फोटबाट हेमन्त चौधरी, मनोज चौधरी, सुमित विकलगायतका घाइते भएको बताए ।

सुनवल नगरपालिका-३ मा पर्ने सोमनाथ खोलाको पुल नजिक बम विष्फोट भएको हो । पुल छेउको ढुंगामा लुकाएर राखिएको बम पड्किएको र र्‍यालीमा प्रयोग गरिएको बसको सिसा फुटेर ३ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए ।

नेपाली कांग्रेसको चुनावी र्‍याली सकिएपछि माओवादीको र्‍याली आएको बेला बम पड्किएको थियो । माओवादीको र्‍याली भन्दा पछाडि एमालेको र्‍याली थियो ।

बम कसले राखेको हो भन्ने खुलेको छैन । यसअघि उम्मेदवारी दर्ताको दिन कपिलवस्तुको वाणगंगामा पनि बम विष्फोट भएको थियो ।

सम्बन्धित समाचार