क्षतिग्रस्त सडक–पुल पनि सेनालाई



सरकारले प्रदेश नम्बर दुईमा हुने तेस्रो चरणको स्थानीय निर्वाचनअगावै बाढीपहिरोबाट क्षतिग्रस्त सडक–पुल मर्मत तथा पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने भएको छ । सुरक्षा तथा सहज आवतजावतका लागि सडक, ढल, कुलो र गोरेटो बाटो मर्मत तथा पुनर्निर्माण द्रुत गतिमा गर्न सेनालाई जिम्मा दिन लागिएको हो । सेनामार्फत ती क्षेत्रमा पुनर्निर्माण र मर्मतको काम सहज हुने बुझाइ सरकारको छ ।

सेनाले सरकारको निर्देशनअनुसार जिल्ला निकायसँग समन्वय गरी मर्मत गर्नेछ । अहिले कैयन् स्थानमा मर्मतमा संलग्न भएकाले पनि सबै क्षेत्रमा सेनालाई नै जिम्मा दिने गरी प्रक्रिया अघि बढाइएको हो । सेनामार्फत काम गराउँदा निर्वाचनको सुरक्षा तथा काममा सहज हुने विश्वास सरकारको छ । तराईमा हुने काम स्थानीय निकायले गर्दा ढिलाइ हुने र अधिकांश काम कागजमा मात्र पूरा हुने विगतको अनुभवका आधारमा यस्तो निर्णयमा सरकार पुगेको भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीले बताए ।

‘तराई–काठमाडौं द्रुत मार्गको जिम्मा पाएको सेनालाई नै अत्यावश्यक सडक एवं पुल निर्माणको जिम्मा दिने तयारी भइरहेको छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले कान्तिपुरसँग भने,‘छिटो बनाउनुपर्ने भएकाले सेनामार्फत नै काम गर्न लागिएको हो । यसको अन्तिम निर्णय हुन बाँकी छ ।’आजको कान्तिपुरमा खबर छापिएको छ।

मन्त्री बलायरले बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल, तटबन्धको पुनर्निर्माण तत्काल अघि बढाउन प्रधानसेनापति राजेन्द्र क्षत्री र सम्बन्धित विभागका प्रमुखसँग आइतबार छलफल गर्दै छन् । उक्त छलफलमा तराई–काठमाडौं जोड्ने द्रुतमार्गको काममा भएका प्रगति र दुई साताअघिको बाढीपहिरोले भत्काएका भौतिक पूर्वाधारको पुनर्निर्माणबारे विस्तृत जानकारी लिने र सेनाको तयारीबारे बुझ्ने काम हुनेछ ।

सम्बन्धित समाचार