यसरी छानौं तिहारमा शुद्ध खानेकुरा



पूर्णचन्द्र वस्ती, कात्तिक १ ।
सुखमय पारी सब संसार,
आयो रसिलो चाड तिहार ।
कविशिरोमणि लेखनाथ पौड्यालको यो कवितांशले नै प्रतिविम्बित गर्दछ, तिहारको रमाइलो । दसैंभन्दा पनि रमाइलो चाड हो तिहार । बत्ती, फलफूल र टीकाको झिलिमिली अनि बास्नादार परिकारको पनि झिलिमिली १ तिहार सेलका लागि पनि उत्तिकै प्रसिद्ध छ । खासै अन्य मिठाई उपलब्ध नहुने गाउँघरमा तिहारमा गनीगनी राताराता सेलरोटी खानुको मज्जा नै बेग्लै । अझ रोटीसँग आलुको कबाब, त्यसको स्वादको त के कुरा गर्नु । दाउन ९घिउ दूधको तर० नपुगेका, भित्र पिठोको लुम्सो भएका सेलरोटी नाम मात्रका हुन् । जुन घरमा भित्र पिठो नभएका खोक्रा सेलरोटी पाक्छन्, उसका घरको प्रतिष्ठा नै बेग्लै । त्यस घरका छोरीबुहारी फूर्ति नै बेग्लै । माइती र मावली पुगेका सेलरोटी पहिचान बन्दथे, उसबेला ।
तिहारको बेला गाउँघरमा सेलका साथै अनर्सा, अर्सा, विभिन्न रङ र किसिमकिसिमका पातरोटी, जालीरोटी, लाखामरी आदि पनि भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप दिने गरिन्थ्यो, अहिले पनि गरिन्छ । ओखर, काजु किसमिस, बदाम, फलफूल पनि भाइटीकासँग जोडिएर आउने खाद्य हुन् । समयसँगै सेलरोटीको ठाउँमा अनेक खालका मिठाई चल्न थालेका छन् । गाउँघरमा पहिले आफ्नै बारीका तोरी या तिलको तेलमा सेलरोटी पाक्थे भने अहिले बजारी तेलको साम्राज्य छ । सोयाविन या सूर्यमुखी तेल आएको छ । घिउको ठाउँ वनस्पति घिउले लिएको छ । तर त्यस्ता तेल र घिउ कुनकुन प्रक्रियाबाट भान्छामा आइपुग्छ, हामीलाई ख्याल हुन्न ।
यसो हुँदा तिहारको बेलामा घिउ, तेल, मिठाई, फलफूललगायतका खाद्यवस्तुको माग बढ्ने भएकाले स्वच्छता र गुणस्तरमा कमजोरी हुने सम्भावना देखिन्छ र सजगता जरुरी छ । तेलको प्याकेटमा उत्पादन मिति तथा उपभोग्य मिति, प्याकेट खोलेपछि पनि त्यसको गन्ध कस्तो छ भनी जाँच्नु उचित हुन्छ । घरमै पनि केही साधारण तरिकाले तिनको शुद्घता थाहा पाउन सकिन्छ । कुनै पनि तेलमा पाल्मोलिन मिसाइएको भए फ्रिजको वरफ नजम्ने खण्डमा रातभरि राख्दा जम्छ । जाडो ठाउँमा र जाडोयाममा पाल्मोलिन मिसाउँदा सामान्य तापक्रममै तेल जम्ने हुनाले यो सजिलै थाहा पाउन सकिन्छ । तोरीको तेल शुद्ध हो भने यसको स्वाद र बास्ना स्वाभाविक हुन्छ । मिसावटयुक्त भएमा बढी झाँस आउने हुन्छ । घिउको शुद्घता थाहा पाउन एक चम्चा घिउलाई हत्केलामा राख्दा केही समयमै पग्लिन थाल्छ । मिसावटयुक्त घिउ पग्लिन समय लाग्छ ।
त्यस्तै सेलरोटी आदि परिकार पकाएर बाँकी रहेको तेल या घिउ फेरि पछि प्रयोग गर्नाले तेल वा घिउमा हानिकारक तत्व बन्ने भई हाम्रो स्वास्थ्यमा हानि पुर्‍याउने हुन्छ । त्यसैले एकपटक प्रयोग गरिसकेको तेल या घिउ पुनस् प्रयोग नगर्नु राम्रो हुन्छ । तिहार भन्नेबित्तिकै रंगीचंगी चाड भएकाले मिठाईहरू रंगीविरंगी हुनु त स्वाभाविकै हो, तर विभिन्न मिठाई र परम्परागत रूपमा बनाइने विभिन्न किसिमका पातरोटी, जालीरोटीलगायतका परिकारमा प्रयोग गरिने रङ अखाद्य हुन् । ती रङले मस्तिष्क, मिर्गौला, कलेजोमा असर गर्नेदेखि लिएर दम र क्यान्सरसम्म गराउने हुन्छन् ।
तसर्थ, मिठाईका लागि प्रयोग गरिएको रङको बट्टामा ुफुड कलरु भनेर स्पष्टसँग लेखिएको छ भने त्यस्तो मिठाई किन्नु उचित हुन्छ । खाद्य रङहरू मानव स्वास्थ्यमा हानि नपुर्‍याउने भनेर प्रमाणित भएका रङ हुन् । तर पनि आवश्यकताभन्दा बढी प्रयोग गर्दा र रङ मिसाइएका खानेकुरा नियमित रूपमा उपभोग गर्दा बालबालिकामा मन स्थिर नहुने अति चञ्चलताको समस्या देखिएको अनुसन्धानबाट पुस्टि भइसकेको छ ।
शुद्ध चाँदीको ुतपकु मिठाईमा राख्दा कुनै पनि हानि गर्दैन, तर चाँदीमा आल्मुनियमको मिसावट भएमा हानि गर्छ । त्यो थाहा पाउन मिठाईको तपकलाई दुई हत्केलाको बीचमा राखेर माडेमा शुद्ध चाँदीको तपक भए हराएर जान्छ, तर आल्मुनियम भएमा डल्लो पर्छ । त्यसैगरी तपकलाई बाल्दा शुद्ध चाँदीको भएमा पूरै बलेर सेतो रङको फुरफुर पर्ने दानादाना बन्छ भने आल्मुनियम मिसिएको भए कालो या खैरो खरानी बाँकी रहन्छ ।
स्वास्थ्यका लागि घिउ या वनस्पति घिउभन्दा तेलमै पकाएका परिकार स्वास्थ्यका लागि बढी लाभदायक हुने गर्छन् । शरीरमा असल कोलेस्टेरोल बढाउन र खराब कोलेस्टेरोल घटाउन तेलको राम्रो भूमिका हुन्छ भने घिउ तथा वनस्पति घिउले नकारात्मक भूमिका खेल्छ । त्यस्तै बढी चिल्लो र गुलियोले हाम्रो शरीरमा बोसो बढाइदिन्छ र हामी मोटाउँछौं । मोटोपन विभिन्न रोगहरूको कारकतत्व हुने कुरा अध्ययनले देखाएका छन् । तसर्थ तिहारमा मिठाई खाँदा सावधानी अपनाउनु उचित हुन्छ ।
फलफूलमा भिटामिन, खनिज र फाइबर पर्याप्त पाइन्छन्, जसले धेरै जीवनशैलीसँग सम्बन्धित रोग लाग्न दिँदैनन् । त्यस्तैस् काजु, पिस्ता, बदाम र ओखर आदि तिहारका मसलामा हृदयरोग, उच्च रक्तचाप आदि रोग घटाउन सहयोग गर्ने ओमेगा थ्री फ्याट्टी एसिड पाइन्छ । यी मसलामा भिटामिन ई र अन्य एन्टिअक्सिडेन्ट्स् पाइन्छन्, जसले छालाको चमक राम्रो बनाउँछन् भने बुढ्यौलीलाई ढिलाइ गराइदिन्छन् । यसका अलावा यी फलफूलमा भिटामिन बी कम्प्लेक्सअन्तर्गतका विभिन्न भिटामिन पनि पाइन्छ ।
तिहारमा खाइने खानेकुरामध्ये धेरै सुस्वास्थ्य र दीर्घायुको लागि अपरिहार्य हुन् । तिहारमा दिदीबहिनीले दाजुभाइलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्छन् । प्रतीकात्मक रूपमा उपहारमा दिने खानेकुराले नै स्वस्थ र दीर्घायु बनाउने हुनाले सेलरोटी, मिठाईजस्ता चिल्ला र गुलिया खानेकुरा कम र फलफूल, ओखर बदामजस्ता खानेकुरा बढी मात्रामा दिनाले सही अर्थमा स्वास्थ्य र दीर्घायुको कामनाले सार्थकता पाउनेछ ।
स्वास्थ्यलाई फाइदा पुर्‍याउने खानेकुरा तिहारमा मात्र होइन, वर्षैभरि खानेबानी बसाउनु जरुरी छ । प्राकृतिक रूपमै रंगीचंगी ९अनेक रङका फलफूल, अनाज, जमिनमुनिका फलफूल० खानेकुरा स्वास्थ्यका लागि अति फाइदाजनक हुन्छन् । कृत्रिमरूपमा सजाइएका खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुन्छन् । प्राकृतिक रूपमा रंगीचंगी रोजौं होइन भने सादा रोजौं, यसो गरे मात्र तिहार र सिंगो जीवन स्वस्थ र सुखमय हुन्छ ।
(वस्ती खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हुन् ।

-http://annapurnapost.com

सम्बन्धित समाचार