सार्वजनिक पदाधीकारीले मापसे गरे दश हजार जरिवाना




सङ्खुवासभा, कातिक २१ गते । सङ्खुवासभाको शिलिचोङ गाउँपालिका भित्र सार्वजनिक पद धारण गरेका जनप्रतिनिधी तथा कर्मचारीहरुले सार्वजनिक ठाउँमा मादक पदार्थ सेवन गरे दश हजार रुपैयाँ जरिवाना लाग्ने भएको छ । त्यस्तै, अन्य नागरिकले पनि मदिरा सेवन गरे पाँच हजार रुपैया जरिवाना तिर्नु पर्ने भएको छ ।

यस्तो निर्णय गत बुधबार बसेको शिलिचोङ गाउँ कार्यपालिकाको बैठकले पारित गरेको हो । भौगोलिक हिसावले अत्यन्तै दुर्गम मानिएको शिलिचोङ गाउँपालिकालाई सभ्य र समृद्ध बनाउन भन्दै गाउँ कार्यपालिकाले यस्तो निर्णय गरेको हो । शिलिचोङ गाउँपालिकामा पछिल्लो समय मादक पदार्थ सेवन गरि सार्वजनिक ठाउँमा होहल्ला, झगडा लगायतको गतिबिधी बढ्दै गएकोले यस्तो निर्णय गर्नु परेको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरि दोश्रो पटक कारबाहीमा परे अघिल्लोको दोब्बर जरिवाना तिर्नुपर्ने समेत निर्णय गरेका छन् ।

गाउँपालिका भित्रको विद्यालय सुधारको लागि जनप्रतिनिधीहरुले नियमित निरिक्षण गर्ने निर्णय गरेका छन् । निर्धारित समयसम्म शिक्षकहरुले नपढाए, विदा स्वीकृत नगराई अनुपस्थित भए वा अन्य गैह्रकानुनी रुपमा विद्यालयमा उपस्थित भए कारबाही गर्ने निर्णय गरेका छन् । कर्मचारी तथा शिक्षकहरु विदा स्वीकृत नगराई अनुपस्थित भए तलब कट्टा तथा रोक्का गर्ने निर्णय गरेको गाउँपालिकाका कार्यकारी अधिकृत मोहन निरौलाले जानकारी दिनुभएको छ । गाउँपालिका भित्रको रिक्त रहेको विद्यालयहरुमा पदपुर्ती गराउन पहल गर्ने समेत निर्णय गरेका छन् ।

गाउँपालिका भित्रको टोल टोलमा द्रुत गतिमा विकास गर्नको लागि तत्काल टोल विकास समिति गठन गरि विकासका कार्यहरु अगाडी बढाउने निर्णय पनि गरेका छन् । सो समितिकै पहलमा समाजमा रहेको विकृतीहरु हटाउने गाउँपालिकाले लक्ष्य लिएको शिलिचोङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मोहनसंशेर कुलुङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार