सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप, आधा दर्जन घाइते



२४ कात्तिक, सोलुखुम्बु । सोलुखुम्बुको सोताङमा नेपाली कांग्रेस र माओवादीका कार्यकर्ताहरुबीच झडप हुँदा आधा दर्जन घाइते भएका छन् ।

घाइतेहरुमध्ये कांग्रेसको जिल्ला कोषाध्यक्ष पेमा तामाङ र माओवादीको महाधिवेशन आयोजक समिति सदस्य दिलबहादुर नेपालीलाई बढी चोट लागेको छ ।

सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस नेता बलबहादुर केसीले माओवादी कार्यकर्ताहरुले आफूहरुलाई लखेटेर आक्रमण गरेको तर प्रहरीले नजोगाएको आरोप लगाए ।

उनले भने, ‘हामी गाउँको कार्यक्रममा जान आफ्नो बाटो हिँडिरहेका थियौं । उनीहरु ढुंगामुढा गर्दै आए तर प्रहरीले रोकेन । शान्ति सुरक्षा अत्यन्त कमजोर छ ।’

केसीका अनुसार गुदेलको कार्यक्रमबाट फर्किएर सोताङ ५ मा बास बसेको घरमा पनि गएराती माओवादी कार्यकर्ताहरुले आक्रमण गरेका थिए ।

तर माओवादी नेता कर्ज्याङ तामाङले कांग्रेस नेता केसी र प्रदेशसभा उम्मेदवार प्रकाशसिंह कार्कीसहितको टोलीले माओवादीको झण्डा, पर्चा र पोष्टर च्यात्न थालेपछि प्रतिकार गरेको बताए । तामाङले भने, सोताङ बजारमा उनीहरुले पहिले हामीमाथि आक्रमण गरेपछि हामीले पनि प्रतिकार गर्‍यौं । हामीले लखेट्यौं । त्यसपछि उनीहरु भागेर इलाका प्रहरी चौकीभित्र छिरे ।’

सम्बन्धित समाचार