सङ्खुवासभामा नमुना मतदान




सङ्खुवासभा, कातिक ३० गते । जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाले नमुना मतदानलाई तिब्रता दिएको छ । आसन्न निर्वाचनमा मतपत्र बदर नहोस भन्ने उद्देश्यका साथ जिल्लाका विभिन्न ठाउँमा नमुना मतदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बिहिबार पनि जिल्ला निर्वाचन कार्यालयले खाँदबारीको पोखरी बजारमा नमुना मतदान कार्यक्रम राखेको छ । कार्यक्रममा एक सय ५० मतदाताहरुले नमुना मतदान गरेका छन् । त्यस मध्ये प्रतिनिधी सभा तर्फ एक सय ५० मत खसेकोमा १३.३३ प्रतिशत बदर भएको छ । प्रदेश सभा तर्फ एक सय ४५ मत खसेकोमा ८.२७ प्रतिशत बदर भएको छ । त्यस्तै, समानुपातिक तर्फ एक सय ४४ मत खसेकोमा ४.१६ प्रतिशत बदर भएको छ । बदर भएको मतहरुबाट मतदाता शिक्षालाई थप प्रभावकारी बनाउनु पर्ने देखिएको जिल्ला निर्वाचन अधिकृत ऋषीकुमार दाहालले बताउनुभयो ।

उत्साहित हुँदै नमुना मतदान गर्न आएका मतदाताहरुले गाउँ गाउँमा नमुना मतदानको कार्यक्रम राख्नु पर्ने बताएका छन् । बजार क्षेत्र भन्दा पनि दुर्गम गाउँका मतदाताहरुमा अन्योलता रहेकोले उनीहरुको सहजताको लागि नमुना मतदान गर्नु पर्ने सिलिचोङ गाउँपालिका ४ मांतेवाका पञ्चकुमारी कुलुङले बताउनुभयो । प्रत्येक गाउँमा मतदाता शिक्षा सञ्चालन गरिए पनि नमुना मतदान गर्नसके अझ प्रभावकारी हुने मतदाताहरुको भनाई छ ।

चैनपुर र खाँदबारी बजारमा यस अघि नै नमुना मतदान कार्यक्रम गरिसकिएको बताउनुहुँदै जिल्लाका अन्य ठाउँहरुमा पनि नमुना मतदान गरिने निर्वाचन अधिकृत दाहालले बताउनुभयो । ‘निर्वाचनले छोपिसकेको छ, तै पनि केही ठाउँहरुमा अझै नमुना मतदान गर्ने योजना बनाएका छौँ’, दाहालले भन्नुभयो । सङ्खुवासभामा पहिलो चरण अन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधी र प्रदेश सभाको निर्वाचन सम्पन्न हुनेछ ।

सम्बन्धित समाचार