दीपक खड्का, प्रदीप पौडेल र रामसिं यादवले हालेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश




सङ्खुवाभा । नेपाली कांग्रेसका नेता एवं पुर्व खानेपानी तथा सरसफाई राज्य मन्त्री दीपक खड्काले सर्वोच्च अदालतमा हालेको रिटमा कारण देखाउ आदेश जारी गर्दै विपक्षीलाई अदालतमा उपस्थित हुन सर्वोच्चले आदेश दिएको छ । प्रधान न्यायाधीश गोपाल पराजुली सहित पाँच जना न्यायाधीशहरुको संयुक्त इजलाशले निर्वाचन आयोग लगायतलाई छलफलका लागि मत गणनाको मुचुल्का सहित उपस्थित हुन आदेश जारी गरेको हो ।

मत गणनाको क्रममा धाँदली भएको भन्दै खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । खड्कालाई बाम गठबन्धनको साझा उमेदवार नेकपा एमालेका राजेन्द्र गौतमले १ हजार १ सय ३० मत अन्तरले पराजित गरेका थिए । राजेन्द्र गौतमले ३२ हजार ४ सय ६९ मत प्राप्त गरेका थिए भने दीपक खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गरेका थिए ।

त्यस्तै, सर्वोच्च अदालतले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पुनः मतगणना हुनुपर्ने माग गर्दै हालेको रिटमा पनि कारण देखाऊ आदेश जारी गर्दै विपक्षीलाई अदालत उपस्थित हुन आदेश दिएको छ । तनहुँ क्षेत्र नम्बर १ को प्रदेशसभा क को निर्वाचनमा ५ मतले पराजित भएपछि पुनः मतगणना हुनुपर्ने माग गर्दै पौडेलले रिट दर्ता गराएका थिए ।

तनहुँ १ को प्रदेशसभा क मा पौडेललाई माओवादी केन्द्रकी उम्मेदवार तथा बिना विभागीय मन्त्री आशा कोइरालाले ५ मतको झिनो अन्तरले पराजित गरेकी हुन् । कोइरालाले १६ हजार ६ सय ४६ मत पाउँदा पौडलले १६ हजार ६ सय ४१ मत पाएका थिए । २३ सय २८ मत खसेको केन्द्रमा २३ सय ७० गणना गर्दै धाँधली भएको दाबी रिटमा गरिएको थियो ।

माओवादी केन्द्रका नेता एवं बिना विभागीय मन्त्री रामसिंह यादवको रिटमा पनि सर्वोच्चले विपक्षीलाई झिकाउँदै कारण देखाउ आदेश जारी गरेको छ ।

सम्बन्धित समाचार