सङ्खुवासभामा हत्याको घटना बढ्यो, महिला हिंसा घट्यो




सङ्खुवासभा । सङ्खुवासभामा गत बर्ष भन्दा यस बर्ष हत्याको घटना बढेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको मानव अधिकार बर्ष पुस्तक २०१८ को पुर्व समिक्षा कार्यक्रममा घटना बढेको प्रतिवेदन प्रस्तुत गरिएको हो ।

जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा एक वर्षको अवधिमा पाँच जनाको हत्या भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । अघिल्लो बर्ष भने कुनै पनि हत्याको घटना नभएको बताईएको थियो ।

त्यस्तै, एक बलात्कार, दुई बलात्कार प्रयास, ५ महिला हिसां, एक बाल हिंसा, ७ कुटपिट र ३ गाली गलौजको घटना घटेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । यस बर्ष महिला हिंसाको संख्या भने घटेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । गत बर्ष २७ वटा महिला हिंसाको घटना रहेकोमा यस बर्ष ५ वटा मात्र दर्ता भएको बताईएको थियो ।

पत्रकार महासंघ सङ्खुवासभाका अध्यक्ष ईन्द्र गिरीको अध्यक्षतामा सम्पन्न भएको समिक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य प्रमुख अतिथी रहनुभएको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे विशिष्ट अतिथी रहनुभएको थियो ।

विशिष्ट अतिथी रहनुभएको घिमिरेले मानव अधिकार बर्ष पुस्तक प्रकासन गर्नु अघि सरोकारवालाहरुसँगको समिक्षा कार्यक्रम अत्यन्त उपयोगी रहेको बताउनुभयो । समिक्षा पछि घटनाका बिवरण प्रकासन गर्दा तथ्य परक हुने भएकोले विश्वासनिय समेत हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले इन्सेकले प्रकाशित गर्दै आएको मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार प्रवर्धनमा सहयोग पुगेको बताउनुभयो । सबै पक्षको समान सहभागिताले मात्रै मानव अधिकार प्रवर्धन हुने उल्लेख गर्नुहुँदै इन्सेकले मानव अधिकार वर्ष पुस्तकको क्षेत्र बढाउनुपर्ने सुझाव दिए ।

समिक्षा कार्यक्रममा सङ्खुवासभाका सञ्चारकर्मी, जिल्ला प्रहरी कार्यालयका प्रतिनीधी लगायत मानव अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार