स्थानीय तहमा बैंक नहुँदा समस्या




सङ्खुवासभा, माघ ९ गते । जिल्लाको सदरमुकाम खाँदबारीमा दर्जन बढी बैँकहरु थुप्रिए पनि स्थानीय तहमा बैंकको स्थापना नहुँदा कार्यालय सञ्चालनमा समस्या परेको छ । नयाँ राज्य पुर्नसंरचनासँगै सम्पुर्ण कार्यालयहरु गाउँ गाउँमा पुगेपनि बैंक तथा वित्तिय संस्थाहरु नुहँदा आर्थिक प्रसासन सञ्चालन गर्न समस्या भएको कार्यालयहरुले गुनासो पोख्दै आएका छन् ।

स्थानीय तहमा नै बैंक नहुँदा कुनै पनि योजनाको निर्माण समितिबाट सञ्चालन गरिने खाता सञ्चालन गर्नकै लागि पनि तीन दिन भन्दा बढी खर्चनु पर्ने बाध्यता छ । कारोबारको लागि सदरमुकाम धाउनु पर्नेहुँदा समयसँगै रकम समेत खर्चिने गरेको छ । निर्माण समितिका पदाधीकारीहरु सदरमुकाम पुग्नुपर्दा आयोजनाकै रकम खचिने हुँदा आयोजनाको बजेट घट्न जान्छ । सरकारी कामकाजकै लागि पनि सदरमुकाम धाईरहनु पर्ने हुँदा कार्य सम्पादनमा समस्या हुने गरेको चिचिला गाउँपालिकाका अध्यक्ष पाशाङ शेर्पाले बताउनुभयो ।

यातायात, सुरक्षा तथा सञ्चारको कारण देखाएर बैंकहरु जान नमानेको स्थानीय प्रतिनिधीहरु बताउछन् । तर निर्वाचित जनप्रतिनिधीहरुले बैंक स्थापनाको लागि पहल गरिरहेको बताएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने शिलिचोङ गाउँपालिकामा सम्पुर्ण पुर्वाधारहरु तयारी भएकोले बैंक स्थापनाको लागि पहल गरिरहेको शिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले बताउनुभयो ।

स्थानीय तहमा बैंक नहुँदा निर्माण ब्यावसायीहरुलाई पनि समस्या परेको निर्माण ब्यवसायीहरुले बताउने गरेका छन् । सदरमुकाम भन्दा बाहिर नगद भुक्तानी गर्न कठिन रहेको निर्माण ब्यावसायी सन्तोष राईले बताउनुभयो । ‘कारोबारको लागि तत्काल क्यास चाहिन्छ, दुई तीन दिन हिँडेर सदरमुकाम आएपछि पुनः भुक्तानी गर्न जानुपर्छ’, राईले भन्नुभयो । सम्भावित क्षेत्रहरुमा तत्काल बैंक स्थापना गरे सेवाग्राही र सेवा प्रयायकहरु सवैलाई सहज हुने उहाँको भनाई छ ।

पाँच गाउँपालिका र पाँच नगरपालिका गरि दश स्थानीय तह रहेको सङ्खुवासभामा हालसम्म तीन वटा स्थानीय तहहरुमा मात्र बैंकका शाखाहरु स्थापना गरिएको छ । खाँदबारी नगरपालिका, चैनपुर र पाँचखपन नगरपालिका बाहेक अन्य स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरु छैनन् । बाँकी स्थानीय तहका कार्यालयहरु सम्पुर्ण कारोबारको लागि सदरमुकाम खाँदबारी धाउनु पर्ने बाध्यता छ ।

सम्बन्धित समाचार