सात जिल्लाका नेपाली कांग्रेस सभापतीहरु सङ्खुवासभा आईपुगे




सङ्खुवासभा, माघ २१ गते । पार्टी सुदृद्धीकरण अभियानका लागि जिल्ला दौडाहमा निस्केका नेपाली कांग्रेसका ७ जिल्लाका सभापतिहरुले गत निर्वाचनमा हार बेहोर्नुको पछाडी नेतृत्वदेखि गाँउ तहका कार्यकर्ताहरु नै दोशी रहेको बताएका छन् । आईतबार प्रेस युनियन सङ्खुवासभाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापतीहरुले यस्तो बताएका हुन् ।

नेपालको प्रत्येक राजनितिक परिवर्तन र प्राप्तीको पछाडी नेपाली कांग्रेसको हात रहेपनि सो कुराको जानकारी जनतासम्म पुराउन नसक्दा हार बेहोर्नु परेको निश्कर्ष निकालेका हुन् । २००७ सालदेखि हालसम्म नेपाली कांग्रेसकै नेतृत्वमा महत्वपुर्ण उपलब्धीहरु भएपनि अन्य दलहरुले जस्तो प्रचारप्रसार नगरेको कारण नेपाली कांग्रेसले कम मत पाएको बताएका छन् । सवै पार्टी भित्र सामान्य गुट हुने गरेको र नेपाली कांग्रेस भित्र पनि केही समुहमा विभक्त रहे पनि चुनाव हार्नुको कारण त्यति मात्र नभएको कांग्रेस ताप्लेजुङका सभापति लिला बोखिमले बताउनुभयो । जो कोही नेता कार्यकर्ताहरुले मेरो नभनी हाम्रो भन्ने सोँचको विकास गरे पार्टी आफै सुदृढ भएर आउने उहाँको भनाई थियो ।

नेपाली कांग्रेस रोल्पाका सभापति एवं सिंचाई राज्यमन्त्री अमरसिं पुनले दुई ठुल्ठुला पार्टीहरु मिल्दा पनि नेपाली कांग्रेसले पाएको मत हेर्दा अझै जनताहरु नेपाली कांग्रेस प्रति नै बढी विश्वास गरेको बताउनुभयो । देश विकासको अविभारा बोकेको पार्टी भएकैले जनताको विश्वास सधै रहिरहने उहाँले धारण राख्नुभयो ।

पार्टी सुदृधीकरणका लागि भन्दै पश्चीम रोल्पाकासभापती एवं सिंचाई राज्य मन्त्री अमरसिं पुन सहित पाँचथर सभापति नगेन्द्रकुमार केरुङ, गुल्मी सभापति भुवनप्रसाद श्रेष्ठ, प्युठान सभापति अमरप्रसाद भण्डारी, तेह्रथुम सभापति गोविन्दप्रसाद ढुङ्गाना, ताप्लेजुङ सभापति लिला बोखिम र सङ्खुवासभाका सभापति दिपनकुमार श्रेष्ठ जिल्ला दौडाहमा छन् । पार्टीले पराजय भोग्नुको कारणबारे बुझ्न र कार्यकर्ता भेटघाटका लागि उनीहरु जिल्ला दौढाहमा क्रियाशिल बनेको उनीहरुको भनाई छ ।

सम्बन्धित समाचार