रेशम चौधरीलाई थुनामा राख्न अदालतको आदेश



१४ फागुन, काठमाडौं । जिल्ला अदालत कैलालीले टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश पर्शराम भट्टराईको इजलासले चौधरीलाई जिल्ला कारागार धनगढी पठाउन आदेश दिएको हो ।

टीकापुर घटनापछि फरार रहेको चौधरीले सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए । लगतै उनको बयान लिनुका साथै दुबै पक्षबाट बहस भएको थियो ।

बहसका क्रममा चौधरीका वकिलहरुले जनताको भारी मतबाट विजयी भइसकेका उनलाई साधारण तारेखमा छाड्नु पर्ने तर्क गरेका थिए । चौधरीले फरार रहेकै अवस्थामा कैलाली १ बाट प्रतिनिधिसभा सदस्य चुनाव जितेका थिए ।

तर, न्यायाधीश भट्टराईको इजलासले जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण हुन नसक्ने बताएको छ । आदेशमा भनिएको छ, ‘जनमत प्राप्त गर्नु पूर्वको फैजदारी कृयाकलापलाई पनि उत्तिकै हेक्का राख्नुपर्छ । साथै प्रतिवादीले प्राप्त गरेको जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण बन्न सक्दैन ।’

चौधरीले अभियोग इन्कार गरेपनि लक्ष्मण थारु, लाहुराम चौधरी लगायतका अभियुक्तहरुले अदालतमै रेशम चौधरीको नेतृत्व र योजनामा घटना भएको हो भनेर बयान दिएको भन्दै अदालतले प्रतिवादी कसुरदार छैनन् भन्न नसकिने बताएको छ । जिल्ला अदालतले घटनाका फरार प्रतिवादको नाममा समाहृवान जारी गर्न पनि आदेश दिएको छ ।

अनलाईन खबर

सम्बन्धित समाचार