१ सय १० जना सहित नेपाल आउने सलमानले पैसा कति लैजान्छन त ?



 

भारतीय अभिनेता सलमान खान १ सय १० जनाको जम्बो टोलीसहित स्टेज कार्यक्रमका लागि यसै महिना नेपाल आउँदैछन् । आयोजकका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

सलमानको ‘द दबंग टुर नेपाल’ अन्तरगत काठमाडौंको टुँडिखेलमा आउँदो २६ फागुनमा कार्यक्रम आयोजना हुन लागेको हो । उक्त कार्यक्रममा सलमान करिब एक घन्टा स्टेजमा छाउने छन् । सलमानको टिममा सोनाक्षी सिन्हा, कृति सेनन, डेजी शाह, प्रभु देवा, मनिष पलसहितका कलाकारहरु रहनेछन् । सलमानले आफ्ना फिल्मका चर्चित गीतहरुमा प्रस्तुति दिनेछन् ।

यी नेपाली कलाकारको साथ

टुँडिखेलमा आयोजना हुने शोमा प्रस्तुति दिने नेपाली कलाकारहरु फाइनल भएका छन् । आयोजकका अनुसार कार्यक्रममा गायकद्वय राजेश पायल राई र विजय लामा तथा नायिकाद्वय सुश्मा कार्की र माला लिम्बुको प्रस्तुति रहनेछ । नेपाली कलाकारहरुले सलमानको इन्ट्री अगाडि एक घन्टा स्टेज तताउनेछन् । गायक राई र लामाले ट्र्याकमा गीत गाउनेछन् भने सुष्मा र मालाले ट्र्याकमै डान्स गर्नेछन् ।

कार्यक्रममा एलआरआई स्कुलका विद्यार्थीहरुले राष्ट्रिय गान प्रस्तुत गर्ने तय भएको छ । कार्यक्रमको सुरक्षा लगायका विषयमा अहिले गृहकार्य भइरहेको आयोजक ओडीसी इन्टरनेसनलका सिमान्त गुरुङले जानकारी दिए ।

यो टुरका लागि सलमानको पारिवारिक कम्पनी सोहेल खान प्रोडक्सनलाई ओडीसीले ५ करोड रुपैयाँ दिने सम्झौता गरेको छ । नेपाली कलाकारको पारिश्रमिक भने ओडीसीले छुट्टै दिनेछ । शोको सम्पूर्ण खर्च १३ करोड रुपैयाँ अनुमान गरिएको छ ।

कार्यक्रममा करिब ३० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको गुरुङले बताए । टिकटको मूल्य ३ हजारदेखि २० हजारसम्म तोकिएको छ ।

कार्यक्रममा नेपाली कलाकारको प्रस्तुतिमा दिनेश डिसीले उद्घोषण गर्नेछन् भारतीय कलाकारको प्रस्तुतिमा मनिष पलले उद्घोष गर्नेछन् । कार्यक्रमका लागि दिउसो १२ बजेबाटै टुँडिखेलको गेट खुला हुने छ । सलमान भने साँझ ६ बजेपछि मात्रै झुल्किनेछन् ।

यसअघि सलमानको शोमा नेपाली मुलधारका नायिकाहरुलाई कोरस नाच्नका लागि प्रस्ताव गरिएको थियो । तर स्वस्तिमा खड्का, प्रियंका कार्कीलगायतका नायिकाहरुले उक्त प्रस्तावलाई अपमानजनक भनेर खारेज गरिदिएका थिए ।

सलमान खान २५ फागुनमा नेपाल आउने कार्यक्रम छ । उनी २७ फागुनमा भारत फर्किनेछन् । उनलाई चन्द्रागिरी पुर्‍याउने र हेलिकोप्टर चार्टर्ड गरेर सगरमाथा देखाउने कार्यक्रम रहेको गुरुङले बताए ।

सलमान २४ वर्षपछि नेपालको यात्रामा आउन लागेका हुन् । यसअघि उनी सन् १९९४ मा नेपाल आएका थिए, जतिबेला उनको बलिउड करिअर भर्खरै सुरु भएको थियो ।

सम्बन्धित समाचार