इमो कलबाट २५ लाख उपहार पर्यो भन्दै पैसा ठगी गर्ने पक्राउ



उदयपुर, चैत्र २ । उदयपुरका एक व्यक्तिलाई इमो कलबाट चिट्ठा पर्यो भन्दै ठगी गर्ने पक्राउ परेका छन् । इमो कलबाट २५ लाख रुपैयाको चिट्ठा पर्यो भन्दै ४५ हजार ठगी गर्नेलाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । नवलपरासी चुस्ता गाउँपालिका वडा नं। ४ नर्सहीका रहजु विनका छोरा १९ वर्षिय नन्दन विनलाई पक्राउ गरेको खबर थाहपाएपछि चौदण्डीगढी नगरपालिका–१० का रामसेवक चौधरी छाँगाबाट खसेझै भएका छन् । ठगलाई पैसा दिने चौधरीलाई अचेल न रातमा निद्रा छ, न दिनमा भोक नै । हिन्दी भाषामा चिठामा २५ लाख रुपैयाँ परेको छ, भन्दै मलाई इमो कलमा दुवईबाट आकाश बर्मा बोलेको भन्दै ठगि गर्ने दलाललाई ४५ हजार १ सय रुपैयाँ सुम्पिएपछि निद हराम भएको हो ।

बिहिबार जाहेरी दिन जिल्ला प्रहरी कार्यालय उदयपुर गएका चौधरीले भने,– ‘पहिले म कहिलै इमो चलाउँदैन थिए, तर, फागुन २७ गते म एनसेलको नयाँ सिम कार्ड किनेर इमो आइडी खोले । इमो आइडी खोलेकै दिन मलाई इमो आइडीबाट आकाश बर्मा भन्ने व्यक्तिले तपाईलाई बधाई छ, तपाईले आजबाट इमो चलाउनु भयो तपाईलाई २५ लाखको चिट्ठा पर्यो भनेर फोन आयो ।’ शुरुमा मलाई २५ लाखको चिट्ठा परेको छ, भन्दै म फुरुङ्ग भए । त्यसपछि उनीहरुले तपाई दुवई नै आउनु हुन्छ कि नेपालमा पैसा पठाई दिउँ भन्न थाले । म पनि सोझो कहाँ दुवई जाने बरु नेपालमै चिट्ठाको पैसा कसरी ल्याउन सकिन्छ त्यतातिर ध्यान गयो ।’

ठगी गर्नेले मलाई तपाईले चिट्ठामा परेको रकमको बारेमा अन्त हो हल्ला नगर्नु फेरी तपाईको पैसा कटा हुन्छ तपाईले नेपालमै पैसा पाउनका लागि हाम्रो अफिसको कर्मचारी नेपालमा रहनु भएको नन्दन विनको नाममा ४५ हजार पैसा पठाउनु अनि तपाईको एकाउन्टमा म पैसा लगाई दिन्छु भनी मलाई इन्टर नेशनल चेक समेतको फोटो निजले पठाई दिएको थियो । उनले भने– ‘म पनि एक्कासी चिट्ठा पर्यो भन्दा के गर्ने के नगर्ने भई उक्त चिट्ठा परेको पैसा कसरी लिने भन्ने मात्र कुरा मेरो मनमा खेलि रह्यो । म पनि सोझो, हुन्छ भन्दै भोली पल्ट अर्थात फागुन २८ गते मैले नवलपरासीका नन्दन विनको नाममा प्रभु मनी ट्रान्सफरमार्फत ४ हजार पाँच सय रुपैया पठाई दिए । तर, त्यति पैसाले नपुग्ने भन्दै ४५ हजार पुर्याउु पर्ने भन्दै पुनः पैसा मगायो ।’ चौधरीले भने– ‘पछि मैले त्यही दिन पुनः ४० हजार पाँच सय उही नन्दन विनको नाममा पैसा पठाए । जव, प्रभु मनी ट्रान्सफर केन्द्रिय कार्यालयबाट तपाईले पैसा पठाएको व्यक्ति प्रहरीले समात्यो, तपाई ठगीमा पर्नु भयो भन्दै फोन आएपछि आफु छाँगाबाट खसेझै भए ।’

विगतका दिनहरुमा भारतीयसंग सिमा जोडिएका ग्रामिण बैंकहरुमा अवैध कारोबार हुने गरेको र केही व्यक्तिहरु ठगीमा परेको पटक पटक सूचनाहरु आएको हुँदा यस विषयमा चासो बढाएको र ग्रामिण क्षेत्रका बैंकहरुसंग समन्वय गरेर नौलो मानिस वा शंका लागे व्यक्तिले पैसा निकाल्ने वा जम्मा गर्ने देखिएमा प्रहरीमा खबर गर्नु भनेपछि ठगी गर्ने नन्दन विन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका मुद्दा फाँटका प्रहरी नायव उपरीक्षक ९इनिस्पेक्टर० टिकाराम पोखरेलले बताए । उनका अनुसार नन्दन विनलाई नगद ४५ हजार सहित पक्राउ परेपछि अनुसन्धानमा उनले इमो कलबाट ठगी गर्ने गरेको पत्ता लाग्यो ।

‘ठगी गर्ने नन्दन विनले विभिन्न बैंकहरुबाट करिव ६ लाख बराबरको रकम बुझेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।’ इनिस्पेक्टर पोखरेलले भने–‘ उनले भारतमा रहेका अन्य व्यक्तिहरुलाई करिव १३ लाख भन्दा बढी रकम ठगी गर्नेहरुको नाममा जम्मा गरेको स्वीकार गरेको छ ।’ इनिस्पेक्टर पोखरेलका अनुसार उदयपुर, विराटनगर, मोरङ लगायतका जिल्लाबाट नन्दन विनको नाममा पैसा पठाएको प्रारम्भिक अनुसन्धानमा देखिन्छ । यस विषयमा अनुसन्धान भैरहेको छ भने सम्बन्धित जिल्लालाई पत्रचार समेत गरेको पोखरेलले बताए ।

पीडितले चैत्र १ गते नन्दन विनमाथि ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा चौधरीले किटानी जाहेरी दिइएको छ । ठगी गर्ने नन्दन विनलाई यस कार्यालयमा उपस्थित गराउन भनी जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमलाई पत्रचार गरेको सूचना अधिकारी मानप्रसाद श्रेष्ठले बताए ।

पुर्वेली न्युज

सम्बन्धित समाचार