ठेकेदारले पारिश्रमिक नदिएपछि मजदुरको विचल्ली



पारिश्रमिक नपाएपछि ठेकदारको पर्खाईमा रहेको मजदुरहरु ।

सङ्खुवासभा, चैत ६ गते । अरुण तेश्रो प्रवेश मार्ग (सडक) का मजदुरहरुलाई ठेकेदारले पारिश्रमिक नदिएपछि मजदुरहरु विचल्ली भएका छन् । अरुण तेश्रो प्रवेश मार्ग (छ्याङ्कुटी–पुखुवा सडक खण्ड)को ठेक्का लिएका लुम्बीनी, एम् के सिं एण्ड ब्रदर्स जे.भी. का ठेकेदारले पारिश्रमिक नदिएपछि मजदुरहरु अलपत्र परेका हुन् ।

खोटाङ, उदयपुर र दोलखाका डेढ सय कामदारहरु नियमित काम नपाएको र काम गरेवापतको पारिश्रमिक ६ महिनादेखि नपाएको भन्दै कार्य स्थलबाट एक हप्ता अघि खाँदबारी झरेका छन् । महिनामा १० दिन जति मात्र काम पाएको र सो काम गरे वापतको पनि पारिश्रमिक नपाएको एक मजदुर हिक्मतसिं राईले बताउनुभयो । आफुहरुले पाउनुपर्ने ज्याला माग्दा ठेकदार बढि जसो सम्पर्कमा नआउने, आउँदा पनि भोलि, पर्सि भन्दै दिन सार्दै आफुहरुलाई ढाटेको मजदुरहरुको गुनासो छ ।

कार्यस्थल छोडेर खाँदबारी झरेकाहरु मध्ये धेरै मजदुरहरु अन्यत्रबाट खर्चको जोहो गरेर गाउँ फर्केको भएपनि ४५ जना मजदुरहरुले खाँदबारी १ स्थीत नगरपालिका कार्यालय छेउको सडकमा दिन रात कटाईरहेका छन् । ‘कतै घर वा होटलमा बस्न सुको पैसा छैन, कहाँ गएर बस्नु र’, एक मजदुर चन्द्रबहादुर राईले भन्नुभयो । ठेकदारले केही दिनमा सवैको ज्याला दिने आश्वासन दिएकोले उनीहरु सडकमै बसेर भएपनि ठेकेदारलाई पर्खेको बताएका छन् ।

उनीहरु फरक फरक जिल्लाबाट टोली भएर सङ्खुवासभामा काम गर्न आएका थिए । त्यहाँ तीन टोली भएर काम गरेकोमा एक टोलीले १५ लाख, अर्को टोलीले २६ लाख र अर्को टोलीले २२ लाख रुपैयाँ पाउँन बाँकी रहेको उनिहरुले बताएका छन् । उता लुम्बीनी, एम.के. सिंह एण्ड ब्रदर्सका सञ्चालक माधब खनालले कामदारहरुलाई उचित समयमा पारिश्रमिक दिन नसकेको स्वीकार्दै केही दिनमा नै सम्पुर्ण रकम चुक्ता गर्ने बताउनुभयो ।

गोरखापत्रबाट

सम्बन्धित समाचार