फोरम छोडेर माओवादी केन्द्रमा प्रवेश गर्दै अजम्बर काङमाङ



काठमाडौं ८ चैत । संघीय समाजवादी पार्टी फोरम नेपालका सचिव अजम्बर राई काङमाङ माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् । काङमाङ प्रवेशको लागि शुक्रबार माओवादी केन्द्रले मुख्यालयमा एक कार्यक्रमको आयोजना गरेको छ ।

माओवादी स्रोतका अनुसार मुख्यालय पेरिसडाँडामा दिउँसो एक बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टी प्रवेश गराउनेछन् । नेता काङमाङले पनि आफू माओवादीमा प्रवेश गर्न लागेको पुष्टी गरे । उनले भने,‘हो, माओवादीमा प्रवेश गर्दैछु ।’ मुलुक निर्माणमा मुलधारको पार्टीबाटै योगदान गर्ने चाहनाको साथ आफू मुलधारको पार्टीमा प्रवेश गर्न लागेको बताए । उनले संघीय समाजवादी फोरमको उतिधेरै आलोचना गर्न चाहेनन् । भने, ‘अबको यात्रा मुलधारबाटै गरौं भन्ने निचोडका साथ प्रवेश गर्न लागेको हुँ ।’

तत्कालिन एमाले केन्द्रीय सदस्य काङमाङले तत्कालिन उपाध्यक्ष अशोक राई सहित पार्टी परित्याग गरेका थिए । परित्याग गरेर बनाएको संघीय समाजवादी नेपालमा उनी उपमहासचिव थिए । दोस्रो संबिधानसभा निर्वाचन र भर्खरै सम्पन्न निर्वाचनमा उनी भोजपुर क्षेत्र नं. १ बाट चुनाव लडेका थिए । तर, दुबै निर्वाचनमा एमालेका उम्मेदवारहरुले पराजित गरेका थिए । संबिधानसभा निर्वाचनमा एमाले नेता कृपाशुर शेर्पा र भर्खर सम्पन्न प्रदेशसभाको निर्वाचनमा एमाले केन्द्रीय सदस्य राजेन्द्र राईले पराजित गरेका थिए ।

४० सालताका देखि तत्कालीन मालेसम्बद्ध अनेरास्ववियुबाट राजनीति सुरु गरेका एमाले निकट तत्कालिन प्रजातान्त्रिक युवा संघको अध्यक्ष पनि बनेका थिए । ०६५ को आठौं महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएका अजम्बर, ०६९ मा अजम्बर एमालेबाट बाहिरिएका थिए ।

स्रोतका अनुसार पछिल्लो समयमा संघीय समाजवादी फोरममा संघीय समाजवादी पार्टीबाट आएका नेताहरु असन्तुष्ट छन् । पहाडमा कम मत पाएपछि उपेन्द्र यादव नेतृत्वकोे पुरानो फोरमका नेताहरुले अशोक राई नेतृत्वका नेताहरुलाई जनधार नभएको भन्दै छेडखानी सुरु गरेका छन् । यसै कारण संघीय समाजवादीबाट आएका नेताहरुले हेपिएका महसुश गर्न थालेका छन् । अध्यक्ष यादव नेताहरु सत्तामा हानथाप गरीरहेका बेला वरिष्ठ नेता अशोक राई अन्नपूर्ण यात्रामा हिडेका छन् । नेता राई पनि असन्तुष्ट रहेको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार