अझै ‘टुकी’ बालेरै जीवनयापन



फाईल फोटो ।

सङ्खुवासभा, चैत १० गते । सङ्खुवासभाको पाँचखपन नगरपालिका १ र २ मा दुई बर्ष अघि नै विद्युत जडान भईसक्नु पर्ने अझै जडान नभएपछि नागरिकहरु ‘टुकी’ बालेरै दैनिकी चलाउन बाध्य भएका छन् । विद्युत विस्तारको लागि जिम्मेवारी लिएका कस्मीट ईलेक्ट्रोनिकल ईञ्जीनियरिङले सम्झौता अनुसार काम नगरेपछि विद्युत सेवाबाट बञ्चित भएका हुन् ।

साविक स्याबुन गाउँ विकास समितिले २ देखि ९ नम्बर वडाहरुमा आर्थिक बर्ष ०७१/७२ भित्रै केन्द्रिय प्रसारण लाईनबाट विद्युत जडान गरिसक्नुपर्ने सम्झौता गरिए पनि ५, ६ र ९ नम्बर (हालको १ र २) वडाहरुमा पोल समेत गाडिएको छ्रैन । गाउँ विकास समिति छदै सम्पुर्ण वडाहरुमा केन्द्रिय प्रसारण लाईनबाट विद्युत बाल्ने भन्दै ५३ लाख रुपैयाँ रकम विनियोजित गरिएको थियो । ९ नम्बर वडाका केही स्थानहरुमा पोल गाडिएको भएपनि प्रयोग विहिन बनेको छ ।

लामो समय पर्खदा पनि विद्युत नआएपछि आर्थिक अवस्था केही मजबुद हुनेहरुले सोलार प्रणाली जडान गरि बालिरहेका छन् । न्युन आर्थिक अवस्था हुनेहरु भने अझै अन्धकारमा मट्टितेलको साहारामा ‘टुकी’ बालिरहेका छन् । चुनावका बेला घरघरमा विजुली बालिदिने घोषणा गरेका नेताहरुले अहिले आएर वाचा भुलेको स्थानीयको आरोप छ । उनीहरु निर्वाचित भएको महिनौ वितिसके पनि आफुहरुले विद्युत बाल्न नपाएको स्थानीय खेमराज पोखरेलले गुनासो पोखाउनुभयो ।

साविकको स्याबुन गाविस (हालको पाँचखपन नगरपाकिा) मा विद्युत विस्तार गर्न बाँकी रहेको स्थानहरुमा तुरुन्त विद्युत बाल्न आफुहरुले ठेकेदारलाई ताकिता गरिरहेको पाँचखपन नगरपालिकाका मेयर बीपिन राईले बताउनुभयो । बाँकी रहेको टोलहरुमा केही महिना भित्रै बत्ति बालिसक्न ठेकेदारलाई भनिसकेको राईको भनाई छ । यस विषयमा ठेकेदार अन्नपुर्ण खतिवडालाई सम्पर्क गर्दा आगामी भदौ भित्र बाँकी स्थानमा बत्ति बालिसक्ने जानकारी दिनुभयो । विद्युत विस्तार गरिने क्षेत्रमा यातायातको साधन पुग्न नसक्ने भएकोले ढुवानीमा समस्या हुदा विद्युत विस्तारमा ढिलाई भएको खतिवडाको भनाई छ ।

सम्बन्धित समाचार