खाँदबारी नगरपालिकाको बेरुजु प्रकरणः के हुँदैछ ?




खाँदबारी नगरपालिकाको आर्थिक बर्ष ०७३/७४ को बेरुजु रकम यतिबेला चर्चाको विषय बनेको छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार एक आर्थिक बर्षमा मात्र करिब पाँच करोड रुपैयाँ बेरुजु देखिएपछि यतिबेला खाँदबारी नगरपालिका चर्चामा छ ।

खाँदबारी नगरपालिकाका लेखा अधिकृत नविनकुमार श्रेष्ठ लगायतका केही कर्मचारीहरुको नाममा ठुलो मात्रामा रकम बेरुजु देखिएपछि नगर कार्यपालिकाको बैठकले वास्तविकता पत्ता लगाउन खाँदबारी ५ का कार्यबाहक अध्यक्ष श्याम प्रसाद निरौलाको संयोजकत्वमा तीन सदसिय छानविन समिति गठन गरेर छानविनको काम थालेको छ । समितिमा कोष तथा लेखा नियन्त्रक कार्यालय सङ्खुवासभाका प्रतिनिधी रुद्रमणी श्रेष्ठ र जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रतिनिधी रुद्र बुढाथोकी रहेका छन् । नगर कार्यपालिकाले समितिलाई सात दिन भित्र प्रतिवेदन बुझाउनु भनेको छ ।

कुन कुन शिर्षकमा बेरुजु रकम कति ?

खाँदबारी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार निरौलाका अनुसार बेरुजु देखिएको पाँच करोड रकम मध्ये बढी आयोजना र सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको रहेको छ । महालेखा परिक्षकले पाँच करोड रुपैयाँको बेरुजु निकालिराखेको मध्ये एक करोड ३९ लाख रुपैयाँ भने तत्काल सम्बन्धीत कर्मचारीबाट असुल गर्न निर्देशन दिएर हिँडेको कार्यकारी प्रमुख निरौलाले जानकारी दिनुभयो ।

अनुसार आर्थिक फाँटका प्रमुख नविनकुमार श्रेष्ठलाई लिखित स्पष्टिकरण लिई रकम जम्मा गर्न लगाएको जानकारी दिनुभयो । नगद रकम जम्मा गर्नुपर्ने मध्ये ९१ लाख ९५ हजार रुपैयाँ जम्मा गरिसकेको समेत जानकारी दिनुभयो । अझै नपुगेको रकम जम्मा गर्नको लागि पुनः श्रेष्ठलाई पत्रचार गरिसकेको अधिकृत निरौलाले स्पष्ट पार्नुभयो । अरु कर्मचारीहरुको नाममा पनि बेरुजु देखिएको छ नी ? भन्ने प्रश्नमा अरु केहि कर्मचारीहरुको नाममा पनि श्रेष्ठ आफैले हस्ताक्षर गर्दै चेक काटेर निकासा गरेको लिखित स्पष्टिकरण दिएकोले उनैबाट असुल्नु पर्ने बताउनुभयो ।

एक करोड ३९ लाख बाहेकको बेरुजु देखिएको रकम भने केही आयोजना र सामाजिक सुरक्षा भत्ता शिर्षकमा रहेको नगर अधिकृत निरौलाले जानकारी दिनुभयो । कतिपय आयोजनाहरुको बिलविजक पर्याप्त नभएकोले र बाँडिएको सामाजिक सुरक्षा भत्ताको पर्याप्त अभिलेख नभएकोले तीन करोड बढी बेरुजु देखिएको उहाँले जानकारी दिनुभयो । यस विषयमा पनि छानविन समितिको प्रतिवेदनपछि मात्र के कति वास्तविक बेरुजु हो भन्न सकिने उहाँको भनाई छ ।

के यस अघिका खाता पनि पल्टाईन्छ ?

खाँदबारी नगरपालिकामा यसअघि पनि सुशासन नभएको भन्दै धेरै गुनासोहरु उठ्दै आएको थियो । आर्थिक पारदर्शितामा धेरैले औंला उठाउदै आएका थिए । यस पटक महालेखा परिक्षकको प्रतिवेदनले अझ धेरैलाई कुरा काट्ने तथा छलफलको विषय बनाउने बाटो खुलाईदिएको छ । यहि सन्दर्भमा २० बर्षसम्म जनप्रतिनिधी विहिन रहँदा कति रकम अनियमितता भयो होला भन्दै प्रत्येक बर्षको कारोबार खोज्नुपर्ने आवाज पनि उठ्दै आएको छ । यस विषयमा कार्यकारी अधिकृतलाई कुरा गर्दा छानविन समितिले आवश्यक ठाने त्यो पनि हुनसक्ने बताउनुभयो । केहि बर्षअघिसम्मको कारोबारको अभिलेख चाहिन सक्ने भएकोले अघिल्लो तिन बर्षसम्मको बैंक स्टेटमेन्ट भने मगाईसकिएको निरौलाले जानकारी दिनुभयो ।

यस विषयमा के भन्छन् मेयर ?

मातृ शोकको ९ औं दिनमा पितृशोकमा पर्नुभएको खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडा अहिले झापा स्थीत जेठो दाजुको घरमामा छन् । यस बिषयमा मेयर खतिवडासँग कुरा गर्दा छानविन समितिले बुझाउने प्रतिवेदन अनुसार दोषीहरुलाई कारबाही गरिने बताउनुभयो । प्रतिवेदनले भ्रष्टाचार गरेको ठहर भए उनीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याईने बताउनुभयो । केही दिनमै सुध्याईको काम सकिने र लगत्तै कार्यालयमा फर्केर थप अनसन्धानमा लागिपर्ने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार