सिलिचोङबाट काजमा खटाईएको स्वास्थ्यकर्मीको तलव रोक्का




संखुवासभा, ९ बैशाख । सिलिचोङ गाउँपालिकाको वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीमा कार्यरत एक अनमीलाई स्वास्थ्य सेवा विभागले काजमा गण्डकी अञ्चल अस्पताल पोखरा पठाएपछि गाउँपालिकाले उक्त स्वास्थकर्मीको तलव रोक्का गरेको छ । वडाको स्वास्थ्य चौकीलाई शुन्य पारेर अन्यत्र पठाएको विरोधमा तलव रोक्का गरिएको गाउँपालिकाले जनाएको छ ।

अनेक प्रयास पछि ल्याएको एक जना महिला अनमी पनि अन्यत्र सुगम ठाउँमा काजमा पठाएर स्वास्थ्य विभागले दुर्गमका नागरिकहरुको स्वास्थ्य माथी खेलवाड गरेको शिलिचोङ गाउँपालिका २ का वडा अध्यक्ष मोहनसंशेर कुलुङको भनाई छ । २४ सै घण्टा प्रसुति सेवाई दिदै आएको स्वास्थ्य चौकीमा अनमी नहुँदा सेवा नै अवरुद्ध भएको कुलुङले जानकारी दिनुभयो । ‘कर्मचारीले आफ्नो अनुकुलको ठाउँमा जान खोज्नु सामान्य कुरा हो, तर स्वास्थ्य केन्द्रका वास्तविकता र समस्या पहिचान नगरि कर्मचारी अन्यत्र खटाउनु अत्यन्त दुखदायी कुरा हो’, अध्यक्ष कुलुङले भन्नुभयो । गाउँगाउँमा सिंहदरवार भनिएपनि केन्द्रीकृत मानसिकताको सिकारमा दुरदराजका आम नागरिक परिरहेको उहाँले बताउनुभयो ।

काजमा गएको अनमीको सम्पुर्ण तलव सुविधा रोक्का गरि प्रभावित भएको स्वास्थ्य सेवा सञ्चालन गर्न तत्काल अर्को अनमी नियुक्त गर्न लागिएको शिलिचोङ गाउँपालिकाका प्रमुख राम बहादुर कुलुङले जानकारी दिनुभयो । अनमी गएसँगै प्रभावित बनेको स्वास्थ्य सेवा तत्कालै सुचारु गर्नु पर्ने बाध्यताको कारण केही दिनमा नै स्वास्थ्यकर्मी नियुक्त गरिने तयारीमा आफुहरु लागेको उहाँले स्पष्ट पार्नुभयो ।

सम्बन्धित समाचार