कविताः नअल्मलिनुस् है शेरधन दाइ, १ नं प्रदेश त बरदान हो



-तारा बहादुर बुढाथोकी (पाख्रीवासे कान्छो)

हामीसँग कन्चनजंघा र मकालुको सान त छदैछ
सर्वोच्च शिखर सगरमाथा पनि छ
कौशिक ऋषि र यलम्बर  अनि
षडानन्द,योगमाया र सिरिजोङ्गाको
आलोकमय गौरब गाथा पनि छ
कोशी ह्लासाको बाटो पनि छ
मोरङ झापाको माटो पनि छ
सेता हिमालको सान त छदैछ
रातो अन्चल र बिराट जुटमिलको
राजनीतिक क्रान्तिको स्वभिमान पनि छ
नअल्मलिन्नुस शेरधन दाइ
एक नं प्रदेश त घगडान छ बरदान छ

बालुवामा सुन नओसारेको भए
सुनकोशी भनिन्नथ्यो
तामा खानी बोकेर नहिडेको भए
तामाकोशी भनिन्नथ्यो
तमोर, अरूण, लिखु मा सेतो सुन बगेको
थाहा नपाएर पो मान्छे खिन्न थियो
अविरल बग्ने इन्द्रावती त झन्
निरन्तर साधानाको पाठ पढाएर
सभ्यतासँग इतिहास जोड्दै
जीवनसँग अभिन्न थियो
प्रतेक नदीमा जीवनको रङ्ग त छदैछ
दशौहजार मेघावाट विध्युतको तरङ्ग पनि छ
नअल्मलिनुस् मुख्यमन्त्री ज्यु
एकनम्बरको जनता त खुशीले दङ्ग छ

टीएमजेमा अठ्ठाइस प्रजातिका गुराँस फुल्छन्
संसारमा नपाइने अनेक प्रजातिका बाँस खुल्छन्
यर्चागुम्बा ,पाँचौँले र पाखानभेदका घारिभित्र त
दुर्लभ रातोपाण्डा र काँडेभ्याकुर डुल्छन्
कोशीटप्पुका अर्ना पनि पर्यटकबाट डलर असुल्छन्
बरूणका पुतली ,अरूणका माछा र
सभापोखरीमा फुलका प्रजातिका संख्या के सोध्नु ?
स्वयम् अप्सरा आए नि लठ्ठिएर
महिनौ महिना यतै भुल्छन्
देवराज इन्द्र पनि फुलका बासनाले
लोलाएर मस्तमस्त उतै झुल्छन्
तपाइँ पैसाको बोटमात्र हल्लाउनुस् मुख्य मन्त्री ज्यु
एकनम्बरको जनता पसिना पोखेर डलर बटुल्छन्

तेह्थुममा ह्यातुङ् झरना जिम्नास्टिक हान्छ
इलामको चियाबारीले संसार तान्छ
खोटाङको हलेसी पूर्वको पशुपति नै भैगो
संखुवासभाको मनकामना गोर्खाको जति नै भैगो
सतासी धाम,बराह धाम र पाथिभरा माता त
मुक्ति,बुद्धि ,शक्ति र भक्ति दाता हुन्
बुद्धिष्टको सांग्रिला सैसिमा गुम्बा
बिजयपुरको बुढासुब्बा मन्दर त झन्
मुन्धुम सृष्टि बिधाता हुन्
सल्लाहमात्र लिनुस् मुख्यमन्त्रीज्यू
एकनम्बरका जनता त अनुसन्धाता हुन्।
किराँतको सुप्तुलुङ् यतैछ,
खम्वुवान् लिम्वुवान् महाकुलुङ यतै छ
पालाम लुखुरी च्याब्रुम यतैछ
भोटेको पनि सिङ्सावा यहीको जमीन जोत्छ
स्यार्पा पुर्वबाट आएर यहीको हिमाल पोत्छ
कोचिला द्रविडेली परिवारको भाषामा रमाउछ
गन्दर्भ सारङ्गीसमाउछ कुसुले पुतली नचाउछ
कुमाल माटोको भाँडा बनाउछ
चँदराले कुदेको दारको ठेकीमा
गोठालो दही जमाउछ
सबैभन्दा बढी मिश्रित जाति छ यहाँ
खान लाउन रमाउन श्रम र सीपले नै कमाउछ।
जानीजानी गल्ती नगर्नुस् है मुख्यमन्त्री ज्यू
एकनम्बरका जनताले त गल्तीमा समाउछन्
अरूण तेस्रो परियोजना चल्दै छ
प्रतेक खोलाबाट विजुली बल्दै छ
झापामुनि पेट्रोल खानी छ
सबैभन्दा धेरै त पानी छ
बिराटनगर आफैँ उध्योगको राजधानी छ
किमाथाङ्का।जोगमनी।काँकडभिट्टा नाकामा
भन्सार असुल्ने मधानी छ
रोजगारी सिर्जना गर्नोस मुख्यमन्त्री ज्यू
कलेजले अर्जापेर छाडेको
देश उठाउने जवनी छ
तिम्रासामु पहाड उडाउने सुनामी छ
नअल्मलिनुस् है शेरधन दाइ
सत्ता त प्यालाको मदिरा हो
यहाँ पिउने र पिलाउने दुवैको बदनामी छ ।

सम्बन्धित समाचार