पत्रकारको चुनावमा मन्त्रीले भोट हालेपछि



२२ वैशाख, सप्तरी । शनिबार भएको नेपाल पत्रकार महासंघको प्रादेशिक निर्वाचनमा एक जना मन्त्रीले पनि मतदान गरेका छन् । प्रदेश नम्बर २ का कृषि तथा भूमिव्यवस्था मन्त्री शैलेन्द्र साहले पनि पत्रकारहरुको निर्वाचनमा मतदान गरेका हुन् ।

मन्त्री साहले सप्तरी शाखाबाट मतदान गरे । दिउँसो राजविराजस्थित नेपाल पत्रकार महासंघको भवनमा आएर उनले मतदान गरेका हुन् । उनी नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य हुन् । साह संघीय समाजवादी फोरम नेपालबाट साह मन्त्री बनेका हुन् ।

फोरम नेपालको पत्रकार संगठन संघीय प्रेस फोरम नेपालबाट प्रदेश नम्बर २ मा तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष, उपाध्यक्ष र महासचिव पदमा संघीय फोरमले उम्मेदवारी दिएका छन् ।

यस्तै संघीय समाजवादी फोरम नेपालका प्रदेश २ का मुख्यसचिव शम्भु झाले पनि सप्तरी शाखाबाटै पत्रकारहरुको निर्वाचनमा मतदान गरेका छन् । झा यसअघि नेपाल पत्रकार महासंघ सप्तरी शाखाको अध्यक्ष र केन्द्रीय सदस्य थिए । यद्यपि उनी पछिल्लो समयमा फोरम नेपालमा राजनीतिमा सकृय छन् ।

यस्तै राजपा नेपालका केन्द्रीय सदस्य अमरनाथ मण्डलले पनि सप्तरी शाखाबाटै नेपाल पत्रकार महासंघको प्रादेशिक निर्वाचनमा मतदान गरेका छन् ।

एमाले नेता सुखराम यादवले पनि पत्रकारहरुको निर्वाचनमा मतदान गरेका छन् । यादव स्थानीय तहको निर्वाचनमा राजविराज नगरपालिकाको मेयर पदका लागि चुनाव लडी पराजित भएका थिए । मण्डल र यादव धेरै पहिलादेखि नै सप्तरी शाखाको सदस्य रही राजनीतिक पार्टीमा लागेर राजनीति पनि गर्दै आएका छन् ।

सप्तरी शाखामा कुल ९८ जना मतदाता रहेकोमा ८५ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकृत बैद्यनाथ झाले जानकारी दिए ।

सम्बन्धित समाचार