शिलिचोङको निर्माणाधिन सडकमा ढुङ्गा खस्दा आवतजावत अवरुद्ध




शिलिचोङ, बैशाख २६ गते । शिलिचोङ गाउँपालिका वडा नम्बर तीन ताम्कु र वडा नम्बर ४ माङ्तेवाको विचमा पर्ने सोमबारे डाँडामा केही दिन अघि स्तर उन्नती गरिएको सडकमा ठुलो ढुङ्गा झरेपछि बाटो बन्द भएको छ । गाउँपालिकाको केन्द्र जोड्ने सडकमा ठुलो ढुङ्गा खसेपछि यातायात बन्द भएको हो ।

सडकबाट खच्चड सम्म पनि छिर्न नसक्दा सामान ढुवानीमा समस्या परेको छ । बाटो बन्द भएपछि गाउँपालिका तीन नम्बर वडा ताम्कुमा भईरहेको भौतिक संरचना निर्माणमा मात्र नभएर खाँद्यन्न लगायतको सामानहरु ढुवानी गर्न पनि समस्या परेको छ । त्यस क्षेत्रमा यातायातका साधन सञ्चालन नहुँदा खच्चडकै भर पर्नु पर्ने हुन्छ, तर अहिले बाटो बन्द भएपछि त्यो पनि बन्द भएको छ ।

केही बर्ष अघि नै खोलिएको ट्रयाकबाट सवारी साधन सञ्चालनको लागि गाउँपालिकाको २ करोड भन्दा बढीको लगानीमा सडकको स्तर उन्नती गर्ने क्रम जारी छ । सडकको स्तर उन्नती गर्ने क्रममा खनिएको सडकको माथिल्लो भाग (कान्ला)बाट ढुङ्गा झरेको हो । सडकमा ढुङ्गा झरेको स्थानदेखी करिब सय मिटर पर सडक मर्मत गर्ने काम भईरहेको छ । सडक मर्मत गर्ने क्रममा ढुङ्गाको तल्लो भाग खनिएको र कम्पनको कारण ठुलो ढुङ्गा सडकमा खसेको स्थानीय उमेश चाम्लिङले बताउनुभयो । त्यसरी खसेको ढुङ्गाको केही भाग तल झरेर पांतिम्मा पेल्टीक सेटको पोखरीलाई क्षति पुराएको समेत चाम्लिङले जानकारी दिनुभयो ।

फेरी बजेट छुटाएर ढुङ्गा पन्छाईने

यसै विच, बाटोमा खसेको ढुङ्गा पन्छाउनको लागि गाउँपालिकाले खर्च छुटाउने भएको छ । मंगलबार बसेको गाउँसभा बैठकले ढुंगा पन्छाउन बजेट विजियोजन गर्ने निर्णय गरेको हो । सडकमा खसेको ढुङ्गा अत्यन्त ठुलो भएकोले प्राविधिक मुल्याङ्कन गरेर गाउँपालिकाले रकम छुटाउने गाउँ कार्यपालिका सदस्य नरभुपाल राईले जानकारी दिनुभयो । ब्रेकर बिना ढुङ्गा फुटाउन नसकिने भएकोले के कति खर्च लाग्ने हो सो को अध्ययन प्राविधकहरुले गरेर बाटो खुलाईने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार