शिशुको मृत्युपछि जिल्ला अस्पताल खाँदबारीमा तनाव



खाँदबारी, ७ जेठ  । संखुवासभा जिल्ला अस्पतालमा तीनमहिने शिशु को मृत्यु पछि तनाव ग्रस्त भएको छ। भोजपुर घर भई हाल खाँदबारी नगरपालिका ८ बस्दै आएका चन्द्र तामाङका छोरा राचन तामाङको आइतबार राती ८ बजे मृत्यु भएको थियो। जिल्ला अस्पताल खाँदबारीले रेफर गरेपछि बिरामी बच्चालाई थप उपचारका लागि धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो।

बच्चाको मृत्युपछि मृतकका आफन्तले उपचारमा लापरबाहीका कारण मृत्यु भएकोले बच्चाको जिम्मा अस्पतालले लिनुपर्ने भन्दै नाराबाजी गरेका थिए। आफूहरूको माग सुनुवाई नगरेको भन्दै उनीहरूले अस्पतालमा तालाबन्दी समेत गरेका थिए। तर रातीको समयमा समस्याको हल नहुने र सोमबार दुवै पक्ष बसेर छलफल गर्ने अस्पतालले जनाएपछि ताला खुलेको थियो।

सोमबार बिहानैदेखि मृतकका परिवार र आफन्तहरूले उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै नाराबाजी गर्न थालेपछि अस्पतालको सेवा प्रवाह समेत तीनघण्टा भन्दा बढी रोकिएको थियो। बिहान अाठबजेदेखि १२ बजेसम्म अस्पताल विकास समिति,अस्पताल र जनस्वास्थ्य कार्यालयका कर्मचारी र मृतकका आफन्तबीच आन्तरिक छलफल भए पनि निश्र्कर्षमा पुग्न सकेको छैन। छलफलका लागि मंगलबार पनि बोलाइएको छ।

कर्मचारीहरूबाट उपचारमा लापरबाही नभएको अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष सरोजकुमार बज्राचार्य बताउँछन्। अस्पतालले उपचार गर्न नसक्ने भन्दै रिफर गरेकोे जनायो। तर बच्चालाई दिइने नियमित खोपअनुसार बिहीबार लगाइएको खोप लगाएपछि बच्चा बिरामी भएकाे जनइएकाे छ। बच्चालाई जेष्ठ एक गते जिल्ला जनस्वास्थ्यमा डिपीडी र पिसीभी खोप लगाइएको थियो।

सम्बन्धित समाचार