भवन बनाउने भन्दै चैनपुरका डिएस्पी काठ तस्करमा संलग्न



सङ्खुवासभा, जेष्ठ २५ गते । गत फागुन महिनामा गुल्ममा भवन निर्माण गर्ने भन्दै सशस्त्र प्रहरीका डिएसपी राम प्रसाद भण्डारी आवश्यक काठ उपलब्ध गराउन आहाले सिस्ने सल्लेरी सामुदायिक वनमा माग गरेका थिए ।

सुरुमा डिएसपी भण्डारीले काठ आवश्यक परेको भन्दै समूहमा माग गरेपछी चिलाउने जातको एक रुख दिइएको थियो, समूहका अध्यक्ष उद्धव प्रसाद गौतमले बताए । पछी फेरी गुल्ममा सय जना जवान थप हुने भन्दै भवन निर्माण गर्नुपर्ने भएकाले भ्mयाल, ढोकाका लागि सखुवाको काठ आवश्यक परेको भन्दै इलाका वन कार्यालय चैनपुरबाट सिफारिस ल्याएका थिए ।

इलाकाले समूहलाई लेखेको सिफारिस पछी समूहको निर्णयमा ३० किबी सखुवाको काठ दिने निर्णय भएको गौतमले बताए । काठ काटेर गुल्म ल्याएको समेत आफूलाई थाहा नभएको उनी बताउँछन् । काठ ल्याइसके पछी डीएसपीले ५० किबी काठ लगेको जानकारी गराएको गौतमले बताए । त्यस यता सोमबार गुल्मको गाडीमा काठ तस्कर भएको खबरले अचम्ममा परेको गौतमले बताए ।

अरुण गुल्म सशस्त्र प्रहरीबल चैनपुरको बा.१ झ १६६९ नंबरको ट्रकमा राखेर गैह्र कानुनी ढंगले सखुवाको काठ धरान तर्फ लैजादै गर्दा सोमबार राती पक्राउ परेको हो । सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मको मुलघाटस्थित चेक पोष्टले सोमबार राती शसस्त्रको ट्रक नियन्त्रणमा लिएको थियो । ट्रक जाच्ने क्रममा अवैध रुपमा करिब एक सय क्यूफीट सखुवाको काठ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको मुलघाटका इन्चार्ज इन्सपेक्टर दुर्गा भट्टले बताए । सखुवाको काठ सहित सवारी साधन नियन्त्रणमा लिएको घटनाबारे सशस्त्र प्रहरी बलको पकलीस्थित बाहिनीलाई जानकारी गराइएको थियो ।

घटनामा सम्लग्न भएकोमा अरुण गुल्म संखुवासभाका डीएसपी रामप्रसाद भण्डारी छानविनमा परेका छन् । बुधबार पकली स्थित सशस्त्रको वाहिनीबाट एसपी गुणाकर खनालको संयोजकत्वमा डिएसपी गमबहादुर कुँवर र निरिक्षक भोला खत्री सहित तीन सदस्यीय छानविन समिति अरुण गुल्म पुगेका थिए । स्थलगत अनुगमन र सोधपुछ पछी उनीहरु बिहिबार पकली फर्किएको अरुण गुल्मका इन्सपेक्टर निरञ्जन गिरीले बताए ।

तस्करको आरोप लागेका डिएसपी भण्डारीको बारेमा इन्सपेक्टर गिरीले जानकारी दिएनन् । छानविन समितिले प्रतिवेदन तयार गरी चाँडै सार्वजनिक गर्ने बाहिनीका डिआइजी मन्दिप श्रेष्ठले बताए । काठ तस्करमा प्रयोग गरिएको गाडी बाहिनी लगिएको र बरामत गरिएको काठ धनकुटा स्थित मुलघाटमा नै रहेको डिआइजी श्रेष्ठले बताए ।

यता जिल्ला वन कार्यालय धनकुटाका सहायक वनअधिकृत शिवकुमार बुढाथोकीका अनुसार बुधबार विभिन्न पत्रपत्रिकामा आएको समाचारपछी मात्र काठ तस्करीका बारेमा जानकारी भयो । यस विषयमा आवश्यक अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउन इलाका वन कार्यालय भेडेटारलाई बिहिबार पत्राचार गरिएको बुढाथोकीले बताए । कानुनले प्रतिबन्ध गरेको कुनै पनि कुकाठ बाहेकका अन्य काठहरु एक जिल्लाबाट अर्को जिल्लामा ओसारपसार गर्दा जिल्ला वन कार्यालयको अनुमति चाहिने जिल्ला वन कार्यालय संखुवासभाका सहायक वनअधिकृत हेमन्त पराजुलीले बताए ।

उक्त काठ ओसारप्रसार वैधानिक रुपमा नभएकाले त्यस्ता अवैध कारोबार गर्नेहरुलाई वन ऐन २०४९ अनुसार कारबाही हुने अधिकारीले बताए ।

सम्बन्धित समाचार