ताम्कु ल्याईएको एक्स-रे मेसिन महिनौ वित्दा पनि जडान भएन



सङ्खुवासभा, जेठ २५ गते । जिल्लाको दुर्गम क्षेत्र शिलिचोङ गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रको लागि सात महिना अघि ल्याईएको एक्स–रे मेसिन अझै जडान हुन सकेको छैन । गत कातिकमा ल्याईएको मेसिन जडान गर्ने प्राविधिक अझै नआएकोले जडान हुन नसकेको हो ।

स्वास्थ्य विभागबाट प्राप्त भएको मेसिन सवै प्रकृया पुरा गरेर महिनौ अघि ल्याईए पनि जडानको जिम्मा लिएको ओम सर्जिकल सप्लायर्सले अझै प्राविधिक नपठाएपछि कोठामा थन्काएर राख्नु परेको स्वास्थ्य केन्द्र ईञ्चार्ज दिपेश कुलुङले जानकारी दिनुभयो । मेसिन ल्याईसकेपछि तत्काल प्राविधिक पनि पठाउने भनिए पनि अझै नआएको कुलुङको भनाई छ । जडानको लागि पटक पटक फोन सम्पर्क गर्दा पनि हप्ता दिनपछि प्राविधिक पठाउने भन्दै आलटाल गरिरहेको कुलुङले दुखेसो पोखाउनुभयो । ‘मैले एति धेरै पटक फोन गरें तर अझै उहाँहरुले प्राविधिक पठाउनुभएन, अर्को हप्ता भन्दै समय सार्ने काम मात्र भईरहेको छ’, कुलुङले भन्नुभयो ।

सिंगो शिलिचोङ गाउँपालिकाका नागरिकहरुलाई सेवा दिने गरि जडान गर्न लागिएको मेसिन लामो समय वित्दा पनि जडान हन नसकेपछि सामान्य समस्या भएकाहरुलाई पनि जिल्ला अस्पताल खाँदबारी पठाउनु परेको स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले बताएका छन् । एक्स–रे को सेवा दिईने भनिएपनि अझै दिन नसक्दा नागरिकहरुको गुनासो चुलिएको स्वास्थ्य केन्द्रका ईञ्चार्ज कुलुङले भन्नुभयो । ‘एक्से–रे को अति आवश्यकता भएकैले विभागमा माग गरेका हौ, मेसिन आए पनि नजोडिदा समस्या उस्तै छ’ कुलुङले भन्नुभयो । मेसिन नजोडिएकै कारण गत तीन महिना भित्र सामान्य हड्डीका १० भन्दा बढी विरामीहरु जिल्ला अस्पताल पठाउनु परेको अनुभव सुनाउनुभयो ।

मेसिन सञ्चालनको लागि जनशक्तिको ब्यवस्था पनि भईसकेको जानकारी दिनुहुँदै जडान भए लगत्तै सेवा सुचारु गर्न सकिने स्वास्थ्य सेवा ईञ्चार्ज कुलुङको भनाई छ ।

सम्बन्धित समाचार