अरुण तेश्रोको सुरुङ भित्र थुनिएकाहरुको अझै उद्धार भएन




संखुवासभा, जेठ २ गते । निर्माणधिन अरुण तेश्रोको ड्याम साईड निर्माण स्थल फ्याक्सीन्दा दोभानको सुरुङमा शुक्रबार साँझ पुरिएकाहरुको उद्धार अझै हुन सकेको छैन । सुरुङको प्रवेश द्वारलाई पुर्ने गरि करिव सय मिटर माथीबाट खसेको पहिरो पन्छाउन नसकेपछि पुरिएकाहरुको उद्धार हुन नसकेको हो ।

घटना लगत्तैबाट उद्धार गर्न सुरक्षाकर्मी खटाईएपनि छिन छिनमा पहिरो झर्ने हुँदा उत्खनन गरिएको भाग पनि पुरिने समस्यकाका कारण उद्धार गर्न नसकिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्याम सारु मगरले जानकारी दिनुभयो । त्यस क्षेत्रमा पानी परिरहने भएकोले पनि थप समस्या भएको प्रनाउ मगरले बताउनुभयो । पुरिएकाहरुको उद्धारको लागि प्रहरी र नेपाली सेना खटाईएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

सुरुङ भित्र ४ जना थुनिएका छन् । थुनिएकाहरु सकुसल भेटिने सम्भावना न्युन रहेको समेत सारु मगरले बताउनुभयो । सुरुङ भित्र पहिरो नगएको अवस्थामा हालसम्म उनीहरु जिवित रहेको हुनसक्ने भएकोले त्यस क्षेत्रमा अक्सिजन, औषधी र चिकित्सक तैनाथ गरिएको डिएस्पी मगरको भनाई छ । अहिलेसम्म त्यस ठाउँमा २६ मिटर सुरुङ खनिएको थियो ।

सुरुङ भित्र थुनिनेहरुमा कालीकोट जिल्ला सिउना गाउँपालिका ४ का ३२ बर्षिय प्रदिप शाही, जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका १ का ४४ बर्षिय प्रेम परियार, भारतको झारखण्डका सुधन मुण्डा र भारतकै बिहार प्रान्तकै नन्द किशोर सुरुङ भित्र पुरिएका हुन् । दुई नेपालीहरु लेबर हुन् भने भारतीयहरु ईलेक्ट्रिकल टेक्नीसियन हुन् ।

सम्बन्धित समाचार