संखुवासभामा आधुनिक हतियार सहित पाँच जना पक्राउ




सङ्खुवासभा, असार २१ गते । सङ्खुवासभाको विभिन्न स्थानबाट हात हतियार सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । थ्री नट थ्री राईफल, पेस्तोल लगायतका आधुनिक हतियार सहित प्रहरीले पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा सिलिचोङ गाउँपालिका वडा नम्बर ५ वातेम्माका ३५ बर्षिय केदार राई, चिचिला गाउँपालिका २ याफुडाँडाका २२ बर्षिय सुरेन्द्र राई, सिलिचोङ गाउँपालिका ४ बस्ने ३२ बर्षिय प्रबिन भन्ने पुर्णकुमार राई, सोही ठेगाना भएका २२ बर्षिय सुर्यबहादुर राई र भारतको बिहार राज्यका १९ बर्षिय मुन्ना खान रहेका छन् ।

केदार राईको साथबाट एक थान पेस्तोल, दुई थान म्यागजिन र १४ राउण्ड गोली बरामद गरेको थियो । राईलाई खाँदबारी ३ मानेभञ्ज्याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, केदार राईलाई भारतबाट पेस्तोल खरिद गरि ल्याईदिएको खुल्न आएपछि भारतिय नागरिक मुन्नालाई बिराटनगरबाट प्रहरीले पक्राउ गरेको थियो । मुन्नाले भारतबाट पैसट्ठीहजार रुपैयाँमा पेस्तोल खरिद गरि केदार राईलाई ल्याईदिएको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । मुन्ना मानेभञ्ज्याङ स्थीत एक मोटरसाईकल ग्यारेजमा काम गर्दै आएका थिए ।

पक्राउ परेका सुरेन्द्र राईबाट दुई थान थ्री नट थ्री राईफल बरामद गरिएको थियो । राईले राईफल ओढारमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी श्याम सारुमगरले जानकारी दिनुभयो । पुर्णकुमार राईबाट भने एक थान कटुवा पेस्तोल र राईफलमा लाग्ने दश थान गोली बरामद गरिएको थियो । राईबाट तार सहितको डोनेटर तार, सेतो रंगको एन्टेना जोडिएको रिमोर्ट, विष्फोटक पदार्थ बनाउने सामग्रीहरु लगायतका सामनहरु बरामद गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी मगरले जानकारी दिनुभयो । सुर्यबहादुर राई भने उनका भिनाजु समेत पर्ने पुर्णकुमार राईले अबैध हातहतियार राख्न लगाएर राखेको कारण पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई हात हतियार तथा खरखजना र विष्फोटक पदार्थ ऐन अन्तर्गत कारबाही अघि बढाईएको डिएस्पी मगरले बताउनुभयो । जिल्लामा अझैपनि अबैध हातहतियार राखिएको हुनसक्ने भएकोले थप अनुसन्धान भईरहेको मगरले बताउनुभयो ।

सम्बन्धित समाचार