आगामी आर्थिक बर्षको खाँदबारी नपाको बजेट ६० करोड बढी




असार २५, सङ्खुवासभा । खाँदबारी नगरपालिकाको तेश्रो नगरसभाले आर्थिक बर्ष ०७५÷७६ को लागि ६० करोड ८६ लाख ४२ हजार पाँच सय ५० रुपैयाँको बजेट बिनियोजन गरेको छ । सोमबार आयोजित नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै खाँदबारी नगरपालिकाका मेयर मुरारी खतिवडाले उक्त बजेट प्रस्तुत गरेका हुन् ।

जस मध्ये चालु खर्च तर्फ ३९ करोड ४१ लाख २८ हजार र पुँजीगत तर्फ २१ करोड ४५ लाख १४ हजार पाँच सय ५० रुपैयाँ विनियोजन गरेको छ । संघिय सरकार र प्रदेश सरकारबाट आएका सशर्त अनुदान, जनसहभागीता र चालु खर्च कटाई बाँकी हुन आउने रकमलाई पुर्वाधार विकासको क्षेत्रमा १२ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ भने सामाजिक विकासको क्षेत्रमा २ करोड १३ लाख ८४ हजार रुपैयाँ, आर्थिक विकासको क्षेत्रमा एक करोड ४९ लाख ४१ हजार रुपैयाँ, बन, वातावरण तथा विपद ब्यवस्थापनको क्षेत्रमा ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, सुशासन तथा संस्थागत क्षमता विकासको क्षेत्रमा ६२ लाख ९० हजार रकम विनियोजन गरेको छ ।

आर्थिक वर्ष ०७५÷७६ मा सवै भन्दा धेरै पुर्वाधार विकासको क्षेत्रमा ७१ दशमलब ७ प्रतिशत वजेट विनियोज गरिएको छ भने सवै भन्दा थोरै सुशासन तथा संस्थागत क्षमता विकासको क्षेत्रमा ३ दशमलव ५५ प्रतिशत विनियोजन गरिएको छ । पुर्वाधार विकास अन्तर्गत पनि सडक, विद्युत र खानेपानीलाई बढी प्राथमिकता दिईएको छ । मेयर खतिवडाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा नगरपालिकाबाट प्रत्येक वडा जोड्ने सडक र रिङरोड निर्माण तथा स्तर उन्नतीलाई पहिलो प्राथमिकता दिईने उल्लेख गरिएको छ ।

प्रतिनिधी सभा सदस्य एवं संघिय सांसद राजेन्द्र गौतमको प्रमुख आतिथ्यता तथा प्रदेश सांसद सरिता खड्काको विशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, उपप्रमुख अम्बिका खवास लगायत, राजनितिक दल, नागरिक समाज, नगरवासी बुद्धिजिवी, नागरिक लगायतको सहभागिता रहेको थियो । मेयर खतिवडाले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रमका वारेमा बक्ताहरुले आ आफ्नो धारणा राखेका थिए । राम्रा कार्यक्रमहरु ल्याईएपनि कार्यन्वयनको पक्ष प्रभावकारी हुन नसक्दा विकासले गति लिन नसक्ने बताउदै कायन्वयन पक्ष राम्रो हुनु पर्ने अधिकांस बक्ताहरुले सुझाव दिएका छन् । कार्यक्रममा बोल्नुहुँदै संघिय सांसद राजेन्द्र गौतमले प्रभावकारी कार्यन्वयनमा लाग्न सुझाव दिनुभयो ।

मेयर खतिवडाले कुनै एउटा क्षेत्रले मात्र सवै विषयमा कार्य गर्न नसक्ने भएकोले सरोकारवालाहरुबाट प्राप्त भएको सुझावहरुलाई मार्गदर्शनको रुपमा स्वीकार्ने बताउनुभयो ।

सम्बन्धित समाचार