वानामा दुई दशकपछि बेठी सहितको रोपाई (भिडियो सहित)




सङ्खुवासभा, असार २९ गते । खेतको डिलमा बसेर दर्जन जति बाद्यवादकरुले बजाएको नौमती बाजाको धुनसँगै छुपुछुपु धान रोपिरहेका रोपारहरु र खेत साईरहेका बाउसेहरुको कृयाकलाप साँच्चै रोमाञ्चक देखिन्थे । आधा उमेर कटिसकेकाहरुले कही कतै देखेको भएपनि अहिलेका युवा जमातहरुको लागि यो अत्यन्तै नौलो थियो । जुन नौलो दृश्य थियो बेठी सहितको रोपाई ।

पछिल्लो समय लोप भईसकेको बेठी परम्पराको जगेर्ना गर्ने सोँचका साथ बुधबार पाँचखपन नगरपालिका ६ वानाका चार दाजुभाईले बेठी लगाएका थिए । चन्द्रबहादुर, मानबहादुर, भक्तबहादुर र यत्नकुमार श्रेष्ठ चार दाजुभाईले २० बर्षपछि लगाईएको यो बेठी थुप्रैका लागि नौलो थियो । बोलाईएको खेतलाहरु मात्रै खेतमा थिएनन्, गाउँका अरुपनि बेठी हेर्नकै लागि खेत वरिपरि उपस्थित थिए । बेठी लगाउने श्रेष्ठ दाजुभाई भन्छन, ‘पहिले पहिले हामी लगायत गाउँका धेरैले रोपाईमा बेठी लगाउथे, अहिले सवैले छोड्दै गए, अरुले हेरुन् भनेर नै यस बर्ष बेठी लगाएका हौं ।

पञ्चे बाजा र नौमती बाजा बजाउदै गरिने रोपाईलाई बेठि भनिन्छ । विशेष गरि मुखिया वा राईको खेतबारीमा रोपाई गर्दा बेठी लगाउने चलन थियो । मुख्यतः दर्जी समुदायले बाजा बजाउने र अरुले खेतमा काम गर्नु पर्ने चलन थियो । त्यसरी सुरु भएको बेठी परम्परा अहिले हराउदै गएको छ । मुखिया प्रथा हराउनु, पहिले जस्तो धेरै मात्रामा रोपाई नहुनु लगायतका कारण पछिल्लो समय बेठी हराउदै गएको बेठीका जानकार डा. मात्रिका तिम्सीना बताउनुहुन्छ । नेपालमा भुमी सुधार आएसँगै विस्तारै बेठीको चलन हराउदै गएको डा. तिम्सीनाको तर्क छ । पञ्चे र नौमती बाजा बजाउनेहरुको संख्यामा कमी आएकोले पनि बेठी संस्कृती हराउदै गएको डा. तिम्सीनाको भनाई छ ।

बेठी परम्परा जसरी सुरु भएपनि एक संस्कृतिको रुपमा रहेकोले यसको संरक्षण गर्नु पर्ने सरोकारवालाहरुले बताउने गरेका छन् । किसानले आफुले बेठीको ब्यवस्था गर्न नसकेपनि स्थानीय सरकारले बेठीको संरक्षणमा ध्यान दिनु पर्ने पाँचखपन–६ का यत्नकुमार श्रेष्ठको भनाई छ । हरेक बर्ष धान दिवसको दिन प्रत्येक स्थानीय तहले बेठीको ब्यवस्था गरि धान रोपाई गरे यसको संरक्षण हुने विचार श्रेष्ठले ब्यक्त गरेका छन् । बेठी सहितको धान रोपाईमा उपस्थित हुनभएको पाँचखपन नगरपालिकाका मेयर बिपिन राईले आगामी बर्षदेखि नगरस्तरिय कार्यक्रममा बेठीलाई संलग्न गराईने बताउनुभएको थियो ।

https://www.youtube.com/watch?v=18sR60sJX6w

सम्बन्धित समाचार