मृगौला पिडित कवितालाई सहयोग रकम हस्तान्तरण




खाँदबारी, असार ३० गते । सङ्खुवासभाको सभापोखरी गाउँपलिका–६ का मृगौला पिडित कविता विश्वकर्मालाई आर्थिक सहयोग प्राप्त भएको छ । दुबै मृगौला फेल भएर उपचार गराईरहेका विश्वकर्मालाई कविता विश्वकर्मा बचाउ अभियानले सङ्कलन गरेको रकम बिरामी कविता हस्तान्तरण गरिएको हो ।

जिल्लाका क्रियासिल सञ्चारकर्मीहरुको उपस्थितीमा देश विदेशबाट सङ्कलन गरेको एक लाख ८ हजार ३५ रुपैयाँ खाँदबारी स्थीत सामुदायिक रेडियो खाँदबारी एफ एममा एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरिएको हो । कार्यक्रममा कविता बचाऔ अभियान समितिका सदस्य सुजन कार्की र खाँदबारी एफ एमएमका सञ्चालक समिति अध्यक्ष सरोजकुमार बज्राचार्यले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै समितिका सदस्य कार्कीले विभिन्न सञ्चार माध्ययमहरुबाट सहयोगको लागि समाचार संप्रेषण गरेर सहयोग रकम सङ्कलन गर्न सम्भव भएको जानकारी दिनुभयो ।

कार्यक्रममा रकम ग्रहण गर्दै बिरामी कविता विश्वकर्माले सहयोगी सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । आफ्नो उपचारको लागि २५ लाख रकम आवश्यक पर्ने भएकोले सवैले सहयोग गर्न अनुरोध गर्नुभएको थियो । सहयोग रकम सङ्कलन कार्यक्रममा बोल्नुहुँदै खाँदबारी एफ एमका सञ्चालक समिति अध्यक्ष सरोजकुमार बज्राचार्यले बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । विरामीको उपचारको लागि सहयोग गर्ने सवैलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै पत्रकार महासंघ संखुवासभा शाखाका सचिव अनिश विष्टले समस्यामा परेकाहरुको सहयोगको लागि सञ्चार माध्ययमले उल्लेखनिय भुमिका निर्वाह गर्नु पर्ने बताउनुभएको थियो । हालसम्म करिव २ लाख रुपैयाँ सहयोग रकम सङ्कलन भईसकेको कविता विश्वकर्माका श्रीमान बिजय सिंगाउरेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार