सङ्खुवासभाका आधा स्थानीय तहमा अझै बैंक खुलेन



सङ्खुवासभा, साउन ३ गते । यस अघि नेपाल राष्ट्र बैंकले असार मसान्तसम्ममा प्रत्येक स्थानीय तहमा बैंकको शाखा स्थापना गरिसक्नु पर्ने भनेपनि सङ्खुवासभाका पाँच स्थानीय तहमा अझै बैंकको शाखा खुलेको छ्रैन । दश स्थानीय तह मध्ये सुगमका पाँच स्थानीय तहमा बैंकको शाखा खुलेर कारोबार सुरु गरिएपनि दुर्गमका तहहरुमा अझै बैंक शाखा सञ्चालनमा नआएको हो ।

सङ्खुवासभाको भोटखोला, चिचिला, सिलिचोङ, सभापोखरी गाउँपालिका र मादी नगरपालिकामा बैंक सञ्चालन हुन नसकेको हो । जिल्लाको सवैभन्दा दुर्गम मानिने भोटखोलामा ग्लोबल आईएम्ई बैंकले शाखा सञ्चालन गर्ने भनिएपनि अझै बैंक सञ्चालनको तयारी गरिएको छैन । बैंक सञ्चालनको लागि पक्की भवन आवश्यक पर्ने भएकोले आवश्यकता अनुसारको भवन नपाउँदा बैंक सञ्चालन गर्न ढिलो भएको बैंक श्रोतले जनाएको छ ।

त्यस्तै, चिचिला गाउँपालिकामा केही समयदेखि यता बैंक सञ्चालनको लागि तयारी गरिएपनि अझै बैंक सञ्चालन हुन सकेको छैन । बैंकको लागि दुई महिना अघि नै भवन उपलब्ध गराईएपनि अहिलेसम्म बैंकको शाखा सञ्चालन हुन नसकेको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो । बैंक सञ्चालन गर्नको लागि केही सामग्रीहरु आईनसकेकोले अहिलेसम्म बैंकको शाखा सञ्चालन गर्न नसकेको बैंकका प्रतिनिधीहरुले बताउने गरेको शेर्पाले जानकारी दिनुभयो ।

अरुण नदि पारिको सिलिचोङ गाउँपालिकामा पनि बैंक खुल्न सकेको छैन । सिलिचोङमा पक्की भवन प्राप्त भएपनि बैंक राख्ने संरचना नबनिसकेकोले असार मसान्त भित्र शाखा सञ्चालन गर्न नसकिएको बताईएको छ । आवश्यक सामग्री ढुवानी गर्न यातायातको पनि समस्या रहेकाले शाखा सञ्चालनमा ढिलो हुन गएको बैंकका अधिकारीहरुले बताउने गरेको गाउँपालिका प्रमुख रामबहादुर कुलुङले बताउनुभयो । उता सभापोखरी गाउँपालिकामा प्राईम बैंकले शाखा स्थापना गर्ने भनिएपनि भल्ट (पैसा राख्ने दराज) आई नपुगेको भन्दै शाखा सञ्चालन गर्न सकिएको छैन । बैंकको अन्य तयारी सकिएको र उक्त भल्ट आईपुगेलगत्तै शाखाबाट कारोवार सुरु गरिने बताईएको छ । मादि नगरपालिकामा पनि हिमालयन बैंकको शाखा सञ्चालनको लागि प्राप्त भएको भवनमा संरचना तयार भईरहेको मेयर विदुर लिङ्थेपले जानकारी दिनुभयो ।

जिल्लाको सदरमुकाम समेत रहेको खाँदबारी नगरपालिकामा नौं वटा बैंक स्थापित छ भने पुरानो सदरमुकाम रहेको चैनपुर नगरपालिकामा पाँच वटा बैंकहरु यस अघि नै स्थापना भईसकेका छन् । पाँचखपन नगरपालिकामा एक महिना अघि नै नेपाल बंगलादेश बैंकले शाखा सञ्चालन गरिसकेको छ भने धर्मदेवी नगरपालिकामा पनि एसविआई बैंकले कारोबार सुरु गरिसकेको छ । त्यस्तै, मकालु गाउँपालिकामा पनि सिद्धार्थ बैंकले शाखा सञ्चालन गरिसकेको छ ।

शाखा सञ्चालन गरिएकाहरुमा ईन्टरनेटको समस्या रहेको बैंकहरुले जनाएको छ । ईन्टरनेट अवरुद्ध हुँदा सेवा प्रबाहमा समस्या रहेको बैंकहरुले बताउने गरेका छन् ।

सम्बन्धित समाचार