चिचिला गाउँपालिकाको बजेट १५ करोड, शिक्षालाई पहिलो प्राथमिकता



सङ्खुवासभा, साउन ८ गते । सङ्खुवासभाको चिचिला गाउँपालिकाको गाउँसभाले आर्थिक बर्ष २०७५/०७६ को लागि १५ करोड १३ लाख ५ हजार सात सय २ रुपैयाँ ४६ पैसा बराबरको बजेट पारित गरेको छ । सोमबार आयोजित गाउँसभाले उक्त बजेट पास गरेको हो ।

सो बजेट मध्ये चालु तर्फ ससर्त सहित १० करोड ६० लाख २२ हजार १ सय ५ रुपैयाँ ४६ पैसा विनियोजित गरेको छ । त्यस्तै, पुजीगत तर्फ ४ करोड ५२ लाख ८३ हजार ५ सय ९७ रुपैयाँ विनियोजन गरिएको छ । यस बर्ष गाउँपालिकाले शिक्षालाई बढि प्राथमिकता दिदै १ करोड ३९ लाख ४३ हजार ३ सय ११ रुपैयाँ विनियोजन गरेको छ भने दोश्रोमा स्वास्थ्यलाई राख्दै १७ लाख ८३ हजार विनियोजन गरेको छ । कृषीमा १४ लाख २३ हजार, पशुमा १३ लाख ८८ हजार रुपैयाँ विनियोजन गरेको छ । महिला बालबालिका तथा समाज कल्याणमा ५ लाख १० हजार, कानुनी मामिलामा १० लाख ५० हजार र बिविध शिर्षकमा १ करोड ४ लाख विनियोजन गरिएको गाउँपालिका प्रमुख पासाङ नुर्बु शेर्पाले जानकारी दिनुभयो । विबिध शिर्षकमा आकस्मीक कोष, विपद ब्यवस्थापन, सामाजिक सहायता, समपुरक कोष, खेलकुद र क्रमागत आयोजना राखिएको प्रमुख शेर्पाले बताउनुभयो ।

आगामी आर्थिक बर्षको लागि संघिय सरकारबाट ससर्त अनुदान तर्फ ५ करोड ४७ लाख प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत रेम्बु चाम्लीङले जानकारी दिनुभयो । प्रदेश सरकारबाट भने समानिकरणमा ३३ लाख ६ हजार र थप अनुदान २३ लाख ६ हजार प्राप्त भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, सवारी साधन बाँडफाड तर्फ १६ लाख ७६ हजार रुपैयाँ प्राप्त भएको अधिकृत चाम्लीङले बताउनुभयो ।

सम्बन्धित समाचार