लम्सुवाघाट पुलः ८ बर्षमा ३० प्रतिशत काम




सङ्खुवासभा, साउन १८ गते । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदिमाथीको लम्सुवा घाट पुल निर्माण कार्य सुरु भएकको ८ वर्ष बित्यो । निर्माण सुरु भएको यतिका लामो समय वित्दा पनि काम भने ३० प्रतिशत मात्र भएको छ ।

करोडौको लागतमा निर्माण हुने भनिएको पुल अहिलेसम्म नबन्दा स्थानीय नागरिकहरुले सास्ती भोग्दै यात्रा गर्न बाध्य छन् । भोजपुर र संखुवासभा आवतजावत गर्ने नागरिकहरु हिउँदको समयमा जोखिमपुर्ण डुङ्गाको साहारा लिनु पर्छ भने बर्षातको समयमा करिब अढाई घण्टाको बाटो घुमेर सतिघाट झोलुङ्गे पुलबाट वारपार गर्नु परेको छ । जिर्ण अवस्थामा रहेको झोलुङ्गे पुलबाट नै मोटर साईकल समेत वारपार गर्ने गरेका छन् । निर्माण हुनुपर्ने समयमा पुल नबनेपछि महँगो शुल्क तिरेर सामान ढुवानी गर्न बाध्यता रहेको स्थानीय नागरिकहरु बताउछन् ।

तीन बर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरि स्वच्छन्द निर्माण कम्पनीले २०६७ साल अषाढ २५ गते सम्झौता गरे पनि पिलर राख्ने खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै ठेकेदारले काम छोडेको थियो । लामो समय निर्माण कार्य रोकिएपछि केही डिजाईन परिर्वतन गरेर समय पनि थपिएको थियो । २०७० असार २५ सम्ममा काम सक्नुपर्ने भएपनि विभिन्न कारण देखाउँदै काम नगरेपछि २०७४ असार २४ सम्म समय थप गरिएको थियो । यसरी थपिएको समय भित्र पनि निर्माण कम्पनीले आयोजना सम्पन्न गर्न सकेको छैन । अझै निर्माण कम्पनी भने समय थपको अपेक्षामा छ ।

पछिल्लो डिजाईन अनुसार ४ वटा पिलर १६ मिटर गहिराईसम्म गाडीनु पर्नेमा आधा खन्दा नै फेरी ठुला चट्टान भटिएको भन्दै पुन काम रोकिएको थियो । सोही चट्टानको कारण थप गरिएको समयमा पनि काम नभएको सडक डिभिजन कार्यालय तुम्लिङटारका ईञ्जिनियर सुरजहरी अधिकारी बताउनुहुन्छ । अब सोही डिजाईनमा काम गराउने वा रिडिजाईन गराउने भन्ने कुराको टुङ्गो नलागेको ईञ्जिनियर अधिकारीको भनाई छ ।

१३ करोड ५ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने गरि पहिलो पटक सम्झौता गरिएपनि समय थप्ने क्रममा पिलरको डिजाईन परिर्वतन गरेसँगै उक्त पुलको लागत १६ करोड ६३ लाख पु¥याईएको थियो । एक सय ५७ मिटर लम्बाई रहेको सो पुलको निर्माण कार्य नहुँदा उक्त पुलसँगै जाडिने ९० मिटरको अर्को खण्डको पुलको ठेक्का लागाउन सकिएको छैन । यसरी एउटै आयोजना सम्पन्न गर्न बर्षौ लगाउँदा नागरिकहरु सेवाबाट बञ्चित त हुन्छन् नै त्योसँग जोडिएका अनेकौ विकासे आयोजनाहरु पनि प्रभावित हुँदै आएको छ ।

सम्बन्धित समाचार