साप्तेलवासीलाई राहत सामग्री वितरण




संखुवासभा । पहिरोको जोखिममा रहेको सिलिचोङ गाउँपालिका ३ साप्तेलका स्थानीयलाई विपदको पुर्व तयारीको लागि गाउँपालिकाले राहत सामग्री त्रिपाल प्रदान गरेको छ । हालै पालिकाका जनप्रतिनिधीहरु गाउँमै पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो ।

गाउँपालिकाका प्रमुख रामबहादुर कुलुङ, वडा अध्यक्ष प्रतापसिं तामाङ, कार्यपालिका सदस्य नरभुपाल मेवाहाङ लगायतका पदाधीकारीहरुको उपस्थितीमा साप्तेल गाउँमै पुगेर त्रिपाल हस्तान्तरण गरिएको हो । गाउँमा पहिरो गईहाले तत्काल सुरक्षित स्थानमा सर्नको लागि त्रिपाल वितरण गरिएको गाउँपालिका प्रमुख कुलुङले जानकारी दिनुभयो । गाउँमा पहिरो गईहाल्ने सम्भावना रहे तत्काल सुरक्षित स्थानमा सर्न र गाउँपालिकालाई वा प्रहरी कार्यालयको फोन नम्बर १०० मा तुरुन्त खबर गर्न अनुरोध गरिएको समेत उहाँले बताउनुभयो । थप विपद ब्यवस्थापनको लागि पालिका स्तरको विपद ब्यवस्थापनबाट पनि सहयोग गर्न सकिने प्रमुख कुलुङले जानकारी दिनुभयो ।

लामो समयदेखि पहिरोको जोखिममा रहेको साप्तेल गाउँमा जिल्ला विपद ब्यवस्थापन समितिसँगको सहकार्यमा सामग्री वितरण गरिएको प्रमुख कुलुङको भनाई छ । पहिरोको जोखिम रहिरहे साप्तेल वासीलाई अन्यत्र सुरक्षित स्थानमा स्थानन्तरण गर्नुपर्ने आवश्यकता रहेको कुलुङको भनाई छ । साप्तेलसँगै अन्य वडाका प्राकृतिक विपदमा परेकाहरुलाई पनि विपद पुर्व तयारीको सामानहरु वितरण गरिएको समेत कुलुङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार