विजुलीसँगै उज्यालिदै दुर्गमवासीका अनुहार 



हेलिकप्टरबाट दुर्गम गाउँ दांखिला पुराईएको विद्युत ट्रान्सर्फमर ।

सङ्खुवासभा, साउन २२ गते । जिल्लाको सदरमुकाम खाँदबारीसम्म ट्याक्टरबाट ल्याईएको विद्युतका सामानहरु लिएर सोमबार सिलिचोङ गाउँपालिका २ कोदांखिला गाउँ हेलिकप्टर पुग्यो । हेलिकप्टर पुगेसँगै दांखिलावासीमा खुसियाली छायो, किनकी केही महिना भित्र नै पुरै गाउँबाट अन्धकार हट्दैछ ।

स्थानीय सिसुवाखोलाबाट निकालिएको लघु जलविद्युत छिमेकी गाउँ बाला (मुलगाउँ)सम्म बालिए पनि  अझै दांखिला र बेतेनीगाउँ अँध्यारोमा नै बस्नु परेको थियो । सक्नेले सौर्य प्रणाली जडान गरेर प्रयोग गर्दै आएका थिए भने न्युन आयश्रोत भएकाहरुले अझै टुकी बालेर बस्नु परेको थियो । बर्षौदेखि बिजुली बाल्ने सपना देखेका गाउँलेहरुको यस पटक सपना पुरा हुने भएपछि दिलो ज्यान दिएर जनश्रमदानमा पनि जुट्दै आएका छन् ।

उपभोक्ताहरुले श्रमदानकै भरमा अधिकांस विद्युत जडानका सामानहरु गाउँसम्म पुराईसकेका छन् भने बोक्नै नसकिने सामानहरु हेलिकप्टरबाट गाउँसम्म पुराएका छन् । त्यस क्षेत्रमा सडक यातायात नभएको कारण सम्पुण सामानहरु मानिसले बोकेर पुराउने गरेका छन् । विद्युतको पोल, तार लगायतका सामग्रीहरु केही गाउँ पुराईसकेका छन् भने केही बाटोमै छन् । उपभोक्ताको ढाँड सेक्ने गरिको जनश्रमदान भएपनि बिजुली बाली छाड्ने अठोटका साथ उनीहरु विद्युत विस्तारको काममा लागिपरेका छन् । जिल्ला सदरमुकाम खाँदबारीबाट १६ कोष टाढा रहेको दांखिला र बेतेनी गाउँमा विस्तार गर्न लागिएको विद्युतबाट सय भन्दा बढी परिवार लाभान्वीत हुने विद्युत विस्तार समितिका अध्यक्ष जीवन कुलुङले जानकारी दिनुभयो । विद्युत बाल्ने सपना नदेखेका गाउँवासीलाई यहि आर्थिक बर्ष भित्र विद्युत बालेर खुसी प्रदान गर्न आफुहरु दिन रात लागि परेको कुलुङको भनाई छ ।

सिलिचोङ गाउँपालिकाको दुई नम्बर वडाको सवै भन्दा विकट दांखिला र बेतेनीमा यसै बर्ष विद्युतको पहुँच पुराउने लक्ष्यका साथ वडाले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको वडा अध्यक्ष मोहन संशेर कुलुङले जानकारी दिनुभयो । यस बर्ष विद्युत विस्तारको लागि ३० लाख रुपैयाँ बजेट विनियोज गरेर सवै वडाबासीको पहुँचमा विुद्युत पराउने काममा सिंगो वडापालिका लागिपरेको उहाँले बताउनुभयो । ‘विनियोजित बजेटले सवै काम नभ्याउला, तर ऋण खोजेर भएपनि सवै नागरिकको पहुँचमा विद्युत पुराउने लक्ष्य छ’, वडा अध्यक्ष कुलुङले भन्नुभयो । यस अघि वडा नम्बर २ मा विस्तार गरिएको विद्युतको ‘हाईटेन्सन’ लाईनको पुरै तार परिवर्तन गर्नु पर्ने भएकोले थप खर्चको क्षेत्र बढेको कुलुङको भनाई छ । मेन लाईनमा कमजोर तार राखिएको कारण विद्युत प्रवाहमा खरावी आएपछि १८ हजार किलोमिटर तार पुरै फेर्नु परेको उहाँले बताउनुभयो । त्यस्तै, एउटा ट्रान्सफर्मर जलेको कारण फेर्नु पर्दा पनि खर्चको क्षेत्र बढेको उहाँले बताउनुभयो । ‘जसरी भएपनि यस बर्ष दुर्गमका वडावासीमा विद्युत पहुँच पुराउँछौ’, अध्यक्ष कुलुङले थप्नुभयो ।

सात बर्षअघि स्थानीय सिशुवाखोलाबाट निकालिएको ६० किलोवाटको लघु जलविद्युतबाट सिलिचोङ गाउँपालिकाको वडा नम्बर १ सिशुवा र २ बालाका नागरिकहरु लाभान्वीत बनेका छन् । त्यस्तै वडा नम्बर ३ ताम्कुका केही भागका नागरिकहरुले पनि उक्त विद्युत उपभोग गर्दै आएका छन् । सिलिचोङ गाउँपालिकामा जस्तै सङ्खुवासभाका दुर्गम क्षेत्रहरुमा स्थानीय खोलाबाट लघु जलविद्युत निर्माण गरेर विद्युत सेवा लिईरहेका छन् ।

सम्बन्धित समाचार