अरुण ३ निर्माण स्थलमा मजदुरको मृत्यु



संखुवासभा– संखुवासभामा निर्माणाधिन अरुण तेस्रो परियोजनामा काम गर्ने एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोट खाँडाचक्र नगरपालिका १ का २६ वर्षीय केशव शाही रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको सोमबार साँझ सुरुङ मार्ग अगाडि काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको हो । सुरुङमार्ग ड्यामसाइड निर्माणस्थल नुमको फ्याक्सिन्दामा रहेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । बुधबार शवलाई उनको गृहजिल्ला लैजाने तयारी गरिएको छ ।

सुरुङ मार्गमा काम गर्ने मजदुरको मृत्यु भएपछि त्यहाँ काम गर्ने नेपाली मजदुरले काम ठप्प पारेका छन् । काम गर्ने मजदुरलाई आवश्यकता अनुसार सेफ्टीका सामग्री नदिएको र तोकिएको समय भन्दा बढी काम लगाएको कालिकोटका जंग शाहीले गुनासो गरे । विभिन्न माग राखेर मजदुरहरुले निर्माण कार्य ठप्प पारेको उनले बताए ।

जिल्लाको दररेट अनुसार आधा तलब समेत नपाएको मजदुरको गुनासो छ । यसअघि असार १ गते दुई भारतीय र दुई नेपाली सुरुङमा थुनिएका थिए । उनीहरुलाई ३९ घण्टापछि सकुशल उद्धार गरिएको थियो । उनीहरुलाई आयोजनाले दिने भनेको क्षतिपुर्ति समेत नपाएको सुरुङबाट जिवित उद्धार गरिएका प्रदिप शाहीले बताए ।

९ सय मेघावाट विद्युत्त उत्पादन हुने उक्त जलविद्युत्त आयोजनाको भारतीय सतलज कम्पनीले काम गर्दै आइरहेको छ।

नागरिक दैनिकबाट

सम्बन्धित समाचार