सभापोखरी पुगेका तीर्थयात्रीको हेलिकप्टरबाट उद्धार



सङ्खुवासभा, भदौ १ गते । सभापोखरी गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल सभापोखरी पुगेका तीर्थयात्रीहरु बिरामी भएपछि हेलिकप्टरद्वारा उद्धार गरिएको छ । मादी नगरपालिका वडा नम्बर–५ का लोकनाथ कोइराला, छत्रकुमारी कोइराला र विमला दाहाललाई बिहीबार उद्धार गरिएको हो ।

नाग पञ्चमीको अवसर पारेर पूजाआराधना गर्न पुगेका उनीहरु पुगेलगत्तै रिगंटा चल्ने, टाउको र शरीर दुख्ने गरी गम्भीर बिरामी परेपछि काठमाडौबाट हेलिकप्टर मगाउनुभएको थियो । हेलिकप्टरद्वारा शुक्रबार बिहान लगभग ११ बजेतिर सभापोखरीबाट उद्धार गरेर संखुवासभाककै धर्मदेवी नगरपालिकामा मुडेमा अवतरण गरिएको थियो ।

त्यसपछि हेलिकप्टर काठमाडौ नै फर्किएका थियो । उहाँहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको मुढे स्वास्थ्य चौकीले जनाएको छ । गर्मी ठाऊँबाट एकै पटक धेरै उचाई भएको ठाऊँमा पुग्दा लेक लागेको पाइएको र सामान्य उपचारपछि स्वास्थ्यमा समेत सुधार आउने क्रममा रहेको जानकारी आएको छ ।

सभापोखरी सदमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्छ । पूर्वी नेपालको संखुवासभा जिल्लास्थित सभापोखरी धार्मिक हिसाबले अत्यन्त पवित्र स्थल हो । सभापोखरीमा जनै पूर्णिमाको दिन सबैभन्दा धेरै भक्तजनहरु पुग्ने गरेका छन । किंवदन्ती अनुसार पृथ्वीमा दैत्यहरुले गर्ने विनास रोक्न देवताहरुले सभापोखरीमा सभा बसी योजना बनाएका थिए ।

त्यसैले सभापोखरी नाम रहन गएको बताईन्छ । सभापोखरीको लम्बाई २ सय मिटर र चौडाइ झण्डै १ सय मिटर रहेको छ । यो समुद्री सतहदेखि ४ हजार २ सय ४० सय मिटर उचाइमा छ ।

सम्बन्धित समाचार