खाँदबारी हाट अस्तब्यस्त




सङ्खुवासभा, साउने ३० गते । २०३७ सालखेखि लाग्दै आएको सङ्खुवासभाको मुख्य बजार खाँदबारी हाट ब्यवस्थीत हुन नसक्दा सेवाग्राहीहरुले बर्षौदेखि सास्ती भोग्दै आएका छन् । बुधबार र सनिबार गरि हप्तामा दुई पटक बजार लाग्ने गरेकोमा थोरै पानी पर्ने वित्तिकै हाट लाग्ने स्थान हिलाम्य भएपछि खरिद विक्री गर्नेहरुले समस्या भोग्दै आएका हुन् ।

झण्डै ५० रोपनी क्षेत्रफलमा रहेको खाँदबारीहाट भित्र ट्याक्टर, ट्रक लगायतका ठुला मालबाहक सवारी साधनहरु प्रवेश गराएपछि माटो जोतिने र थोरै पानी पर्ने वित्तिकै हिलाम्य हुने स्थानीयले बताउने गरेका छन् । बजार लाग्ने क्षेत्रमा हिलो भएपछि खरिद विक्रिको घट्ने गरेको खाँदबारी हाटका ब्यापारिहरुले बताउने गरेका छन् । हिलोको विचमा थोरै ठाउँ निकालेर सामान राखे पनि किन्नेहरुको उपस्थीती न्यून हुँदा ब्यापार खस्कीने गरेको उनीहरुको भनाई छ । सामन खरिद गर्न आएकाहरु पनि हिलोको विचबाट हिड्नुपर्दा सास्ती भोग्नु परेको बताउछन् । प्रत्येक पटक महँगो हाट कर तिर्दै आएपनि हाट क्षेत्रको ब्यवस्थापनमा कसैले चासो नदिएको उनीहरुको आरोप छ ।

बजार क्षेत्रमा पानी नजम्ने ब्यवस्था गरेर ठुला मालबाहक सामानहरु प्रवेश नगराए केही हदसम्म समस्या समाधान हुने उनीहरुको भनाई छ । जिल्लाको समग्र ब्यापार ब्यावसाय क्षेत्र हेर्दै आएको सङ्खुवासभा उद्योग बाणीज्य संघका अध्यक्ष युवराज शाक्यले खाँदबारी हाट खाँदबारी नगरपालिकाको मातहतमा रहेकोले नगरपालिकाले नै सम्पुर्ण ब्यवस्थापन पनि हेर्नुपर्ने बताउनुभएको छ । आफुहरुले पनि ब्यापारिक क्षेत्रमा काम गर्ने भएकोले खाँदबारी हाटको अवस्थाको बारेमा नगरपालिकालाई ध्यानाकर्षण गरिसकेको अध्यक्ष शाक्यको भनाई छ ।

खाँदबारी नगरपालिकाको गहनाको रुपमा रहेको बजार ब्यवस्थापनमा नगरपालिकाले महत्वका साथ हेर्दै आएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडाले बताउनुभयो । वरिपरिका स्थानीयले घर बनाउने क्रममा हाट लाग्ने स्थानमा माटो थुपारेपछि बढी हिलाम्य बनेको खतिवडाको भनाई छ । बजार ब्यवस्थापनको लागि नगरपालिकाको बजेटले मात्र सम्भव नभएकोले प्रदेश सरकारसँग अनुरोध गरिएको बताउनुभयो । प्रदेश सरकारबाट बजेट प्राप्त हुने आश्वासन आएको बताउनुहुँदै अब बजेट प्राप्त भए सवै खालका ब्यापार गर्ने गरि ट्रष्ट निर्माण गर्ने ढल तथा पानीको उचित ब्यावस्थापन गरिने खतिवडाले बताउनुभयो ।

खाँदबारी हाटमा सङ्खुवासभाका मात्र नभएर भोजपुर, धनकुटा र तेह्रथुमका समेत खरिद विक्रि गर्न आउने गरेका छन् । धनकुटा र तेह्रथुमबाट तरकारी जन्य बस्तुहरु विक्रि गर्न आउने गर्छन भने भोजपुरबाट तरकारी जन्य बस्तु बाहेक रुद्राक्षको पनि खरिद विक्री गर्न खाँदबारी हाट आईपुग्ने गर्छन् । खाँदबारी हाटमा दैनिक उपभोग्य सामान, लत्ताकपडा, मासुजन्य खाद्यबस्तु लगायत जडिबुटीहरुको समेत राम्रो किनवेच हुँदै आएको छ ।

सम्बन्धित समाचार