खर्च बिवरण नबुझाएपछि स्थानीय तहको बजेट निकासा रोक्का




सङ्खुवासभा, भदौ ७ गते । कोष तथा लेखा नियन्त्रण कार्यालय सङ्खुवासभाले जिल्लाको दश वटै स्थानीय तहहरुको बजेट निकासा रोकेको छ । स्थानीय तहहरुले आर्थिक बर्ष २०७४÷७५ को कार्यक्रम, बजेट र खर्च बिवरण पेश नगरेपछि निकासा रोकेको हो ।

स्थानीय तहहरुले आर्थिक बर्ष सकिएको १५ दिन भित्र खर्च बिवरण पेश गर्नु पर्ने भएपनि उक्त समय सिमा भित्र स्थानीय तहले खर्च बिवरण पेश गरेका थिएनन् । स्थानीय तहहरुलाई बिवरण पेश गर्नको लागि कोलेनिका सङ्खुवासभाले पत्राचार समेत गरेको थियो । खर्च बिवरण पेश गर्नको लागि दश दिनको समय दिएर साउन ६ गते नै पत्राचार गरिएपनि अझै ६ स्थानीय तहहरुले बिवरण पेश नगरेको प्रमुख कोष नियन्त्रक भोजराज पौडेलले बताउनुभयो ।

अहिलेसम्म खाँदबारी, धर्मदेवी, पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिकालेमात्र खर्च बिवरण बुझाएको प्रमुख पौडेलले जानकारी दिनुभयो । ‘बिवरण पेश गर्नको लागि छुट्टै फरम्याट हुन्छ, कतिपयले फरम्याट समेत लगेका छैनन्’, पौडेलले भन्नुभयो । अहिलेसम्म प्राप्त भएको बिवरण मध्ये धर्मदेवी नगरपालिकाले मात्र तोकिएको फरम्याटमा बिवरण पेश गरेको र अन्य तीन स्थानीय तहहरुले उनीहरुको आफ्नै फरम्याटमा बुझाएको उहाँले बताउनुभयो ।

जिल्लाको चार स्थानीय तहहरुले खर्च बिवरण पेश गरेपनि अन्य ६ स्थानीय तहहरुले नबुझाएको कारण बुझाउनेहरुको पनि निकाशा रोकिएको बताईएको छ । अन्य बाँकी स्थानीय तहहरुले बिवरण पेश गरेपछि मात्रै सवै तहको एकैपटक निकासा दिईने प्रमुख कोष नियन्त्रक पौडेलले बताउनुभयो । अहिलेसम्म मादी नगरपालिका, चैनपुर नगरपालिका, भोटखोला, मकालु, चिचिला र सिलिचोङ गाउँपालिकाले खर्च बिवरण पेश गरेको छैन ।

अन्य ६ स्थानीय तहहरुको कारण बजेट रोकिएपछि समस्या भएको बिवरण बुझाईसक्ने स्थानीय तहका प्रमुखहरुले बताउने गरेका छन् । केही स्थानीय तहहरुको कारणले बेलैमा बिवरण बुझाउनेहरुलाई समस्यामा पार्न नहुने खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडाको दावी छ । ‘हामीले बेलैमा सम्पुर्ण बिवरण बुझाईसकेका छौं, अरु तहहरुको कमजोरीको हामीले पनि सजाय भोग्नु परेको छ’, खतिवडाले भन्नुभयो । बजेट रोकिएपछि कार्यक्रम तथा आयोजना सञ्चालन गर्न समस्या भएको खतिवडाको भनाई छ । बिवरण पेश गर्न बाँकी हुनेहरुको मात्र रोकेर अरु तहहरुको बजेट नरोक्न कोष तथा लेखा नियन्त्रण कार्यालय सङ्खुवासभालाई अनुरोध गरिसकिएको खतिवडाले बताउनुभयो ।

गोरखापत्रबाट

सम्बन्धित समाचार