आस्थाको केन्द्र बन्दै ‘ सोह्र सय देवी उपासी धाम’ (फोटो सहित)




सङ्खुवासभा, भदौ २३ गते । बर्षमा दुई पटक मात्र मेला लाग्ने सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा पर्ने ‘सोह्र सयदेवी उपासी धाम’ पछिल्लो समय धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । जनै पुर्णीमा र बैशाखे पुर्णीमा (बुद्ध जयन्ती)को दिन मात्र लाग्ने धार्मिक मेलामा मनोकांक्ष पुरा हुने विश्वासका साथ सयौं भक्तजनहरु देवीको दर्शन गर्न जाने गरेका छन् ।

सिलिचोङ ४ मांतेवा गाउँदेखि घण्टौं उकालो हिँडेपछि मात्र पुगिने जंगलको विचमा रहेको देवीथानमा धामी झाक्रीसँगै अन्य भक्तजनहरु पुगेर पुजापाठ गर्नेहरुको संख्या बर्षेनी बढ्दो छ । देवीथानमा पुगेर धामीझाक्रीहरुले बरदान माग्ने गर्दछन् भने अन्य भक्तजनहरुले सुस्वास्थ्य, दिर्घायु र प्रगतिको कामना गर्दछन् । धामीझाक्रीले देवीथानमा पुगेर पुजा गरे पृथ्वी लोकमा अन्नको सह हुने, अतिबृष्टि, अनाबृष्टि नहुने लगायतका मान्यता छ । विद्यार्थीहरुले सोह्रसय देवी उपासी धाममा पाठ पुजा गरे शिक्षा प्राप्त हुने जनविश्वास रहेको छ । सन्तान नभएकाहरुले पनि यहाँको दर्शन गरे सन्तान प्राप्त हुने विश्वास रहेको छ । यो धामको दर्शन गर्नको लागि छिमेकि जिल्लासँगै गाउँ छोडेर बसाई सरिगएकाहरु पनि आउने गरेका छन् ।

देवीथान धाम झण्डै सताब्दी अघि धामीहरुले नै पत्ता लगाएको भनाई छ । सृष्टिमा भएका सोह्र सय भगवानहरुको भेला हुने स्थानको रुपमा रहेकोले उक्त देवीथानलाई सोह्र सय देवी उपासी धाम भनिएको स्थानीय जानकारहरु बताउछन् । जनै पुर्णीमा र बुद्ध जयन्तीको दिन सोह्र सय देवीहरु उक्त धाममा भेला हुनेहुँदा त्यहाँ सवै भगवानहरुको दर्शन पाउने विश्वासका साथ टाढाबाट पनि धामी र अन्य दर्शनार्थीहरु आउने गरेको साल्पा धाम ब्यवस्थापन समितिका सचिव अर्जुन कुलुङले बताउनुभयो । भोजपुर र धनकुटाबाट समेत धामीझाक्रीहरु आउने भएकोले अहिले उनीहरुको सुरक्षित आवासको लागि सामुदायिक भवन निर्माण गरिएको सचिव कुलुङले बताउनुभयो । अघिल्लो बर्ष तराईबाट समेत धामीहरु आएको जानकारी गराउनुहुँदै उनीहरुको ब्यवस्थापनको लागि सामुदायिक भवनको निर्माण गरिएको उहाँको भनाई छ ।

सोह्र सय देवी उपासी धाम प्रति बढ्दै गएको जनविश्वसलाई मध्यनजर गर्दै भक्तजनहरुको सहज यात्राको लागि देवीथान नजिकैसम्म सडक सञ्जाल जोड्ने योजना रहेको सिलिचोङ गाउँपालिकाका प्रमुख रामबहादुर कुलुङले जानकारी दिनुभयो । सो को लागि यस बर्ष बजेटको ब्यवस्था समेत गरिएको उहाँले बताउनुभयो । त्यस्तै, तिर्थालु भक्तजनहरुको सहजताको लागि बस्ने पाटी र खानेपानीको ब्यवस्थापन गर्न लागिएको सिलिचोङ गाउँपालिका–४ का अध्यक्ष देवेन्द्र राईले बताउनुभयो ।


गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार