पहिरोको कारण सिलिचोङका १३ परिवार उच्च जोखिममा



याचम्खामा गएको पहिरो । तस्विर सौजन्यः ताम्कु प्रहरी चौकी ।

सङ्खुवासभा, भदौ २८ गते । लगातारको बर्षापछि सङ्खुवासभाको सिलिचोङ गाउँपालिका ३ ताम्कुको याचम्खा र साप्तेल टोलमा पहिरो जान थालेपछि नागरिकहरु उच्च जोखिममा परेका छन् । बर्षाको कारण ठाउँ ठाउँमा पहिरो जाने र जमिन फाट्न थालेपछि पहिरोका उच्च जोखिममा परेका हुन् ।

पहिरोको कारण जमिनसँगै घर पनि चर्किन थालेको छ । ३२ परिवार रहेको याचम्खामा पहिरोको कारण १३ परिवार उच्च जोखिममा रहेक छन् भने अन्य सामन्य रहेका छन् । त्यस्तै १७ घरपरिवार रहेको साप्तेल गाउँमा पनि पहिरो जान थालेपछि बस्ती उच्च जोखिममा परेको हो । पहिरोको कारण घर समेत चर्किन थालेपछि वडा सदस्य मणीकुमार कुलुङले प्रहरी टोली लिएर अनुगमनमा पुग्नुभएको छ । स्थलगत अध्ययन अनुगमन गरेपछि स्थानीय विपद ब्यवस्थापन समिति, जिल्ला विपद ब्यवस्थापन समिति र जिल्ला रेडक्रसमा प्रतिवेदन पेश गरिने जनप्रतिनिधी मणीकुमार कुलुङले जानकारी दिनुभयो ।

अव केही दिन अझै पानी परे जनधनको क्षति समेत हुने गरी पहिरो जान सक्ने भएकोले बेलैमा सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने देखिएको कुलुङको भनाई छ । यता सिलिचोङ गाउँपालिकाका प्रमुख रामबहादुर कुलुङले स्थलगत अनुगमनको प्रतिवेदन आएलगत्तै स्थानीय तहबाट गर्न सकिने काम तत्काल गरिने बताउनुभयो ।

यस घटना सम्बन्धी जिल्ला विपद ब्यवस्थापन समितिलाई समेत मौखिक जानकारी गराईसकेको बताउनुहुँदै, अध्ययन रिपोर्ट आएपछि विधिवत जानकारी गराएर सहयोग जुटाउने तयारी रहेको कुलुङको भनाई छ । साप्तले गाउँमा यस अघि पनि पहिरो गएपछि राहत स्वरुप त्रिपाल वितरण गरिएको थियो ।

तस्विर सौजन्यः ताम्कु प्रहरी चौकी ।

सम्बन्धित समाचार