अस्पताल सुधारमा विशेष जोड दिनेछुः सुमन शाक्य




खाँदबारी, असोज १० गते । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जिल्ला अस्पताल सुधारलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । हालै अस्पताल ब्यवस्थापन समितिको जिम्मेवारी पाएपछि अव अस्पतालको सुधारमा ध्यान केन्द्रित हुने बताउनुभएको हो ।

जिल्लाको एक सञ्चार संस्थामा बोल्नुहुँदै अस्पतालले गुमाएको साख फर्काउने काममा लागिपर्ने उहाँले बताउनुभएको छ । पटक पटक नकरात्मक क्षेत्रबाट चर्चामा आउने गरेको अस्पताल सुधारको लागि आफु अब लागि परेर केही समयमा नै सुधारका अनुभुति गर्ने गरि लागिपर्ने बताउनुभएको हो । यस भन्दा अघि स्थानीय स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको ब्यावहारको कारण अस्पतालले बदनामी कमाउनु परेको बताउनुहुदै अब त्यसको पनि ब्यवस्थापन गर्न आफु लागिपरेको बताउनुभयो । जिल्ला अस्पतालको नकरात्मक चर्चा स्थानीय स्तरमा मात्र नभएर स्वास्थ्य विभागसम्म पनि पुगेकोले चिकित्सक ल्याउन समेत समस्या भईरहेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय शासन ऐनले कर्मचारीहरुलाई घर पायक राख्नु पर्ने भएकोले स्थानीय कर्मचारी ब्यवस्थापन गर्न समस्या परेको शाक्यको भनाई छ । तर, अब कर्मचारीको समायोजन गरेर भएपनि स्थानीय कर्मचारीहरुको ब्यवस्थापन गरिने उहाँले बताउनुभयो । ‘कार्यरत स्थानीय कर्मचारीको ब्यावहार सुध्रिनु पर्छ, होईन भने अन्यत्र पठाएर भएपनि अस्पताल खाली गराउँछौं’, उहाँले भन्नुभयो ।

अर्को प्रसंगमा बोल्नुहुँदै, सङ्खुवासभा प्रवेश मार्ग टुटे देउराली–मुडे सडक निर्माणको लागि आगामी चैतसम्मको लागि अन्तिम पटक समय थपिएको जानकारी गराउनुभयो । गत भदौमा निर्माण अवधी सकिएपछि बाध्य भएर अर्को पटक समय थपिएको उहाँले बताउनुभयो । गृहमन्त्री र संघिय सांसदले त कुनै हालतमा समय थपिन्न, काम नसके कारबाही हुन्छ भन्नुभएको थियो नी ? भन्ने प्रश्नमा कारबाही गर्ने स्पष्ट निति नभएकोले बाध्य भएर समय थप्नु परको उहाँले बताउनुभयो । ठेक्का टोडेर अर्को प्रकृयाबाट जाँदा ठेकेदारले रित हाल्न सक्ने र झन काम अल्झिने हुँदा अन्तिम पटकको लागि समय थप्नु नै बुद्धिमानी हुने भएकोले त्यसको गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, निर्माणाधिन अरुण तेश्रोमा पिडिए अनुसार जनशक्ति प्रयोग नभएकोमा आफुहरुको पनि ध्यानाकर्षण भएको बताउनुभयो । यस विषयमा अरुण तेश्रो र लगानी बोर्डका अधिकारीहरुसँग कुरा भईरहेको जानकारी गराउँदै अब केही समय लगत्तै सात सय २० जनालाई प्राविधिक तालिम दिन लागिएको बताउनुभयो ।

सम्बन्धित समाचार