सङ्खुवासभा, असोज ११ गते । लगातार बर्षापछि स्खुवासभाको सिलिचोङ गाउँपालिकामा गएको बाढी पहिरोले २ करोड २५ लाख रुपैयाँको क्षति पुराएको छ । ठाउँठाउँमा पहिरो गएपछि सिलिचोङ विपद ब्यवस्थापन समितिले स्थलगत अध्ययन, अनुगमन गरि उक्त क्षतिको बिवरण सार्वजनिक गरेको हो ।
सिलिचो गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा बाढी र पहिरोको कारण उक्त क्षति भएको हो । पहिरोको कारण वडा नम्बर ३ ताम्कुमा २१ घर विस्थापित भएका छन् । त्यस्तै, वडा नम्बर २ बालामा पनि तीन घर विस्थापित भएका छन् । गाउँमा पहिरोले घर भत्किएको कारण उनीहरु विस्थापित भएको गाउँपालिकाका प्रमुख रामबहादुर कुलुङले जानकारी दिनुभयो । ठुलो परिमाणमा भौतिक पुर्वाधारहरुमा क्षती भएपनि मानविय क्षति भने भएको छैन । विस्थापित भएकाहरुलाई अस्थायी आवास ब्यवस्थापनको लागि केही त्रिपाल वितरण गरिएको गाउँपालिका प्रमुख कुलुङले बताउनुभयो ।
विस्थापित भएकाहरुलाई सुरक्षित स्थानमा पुनस्र्थापना गर्नु पर्ने आवश्य भएपनि ठुलो बजेट आवश्यक पर्ने भएकोले जिल्ला विपद ब्यवस्थापन मार्फत प्रदेश र केन्द्रीय सरकारसँग पहल गर्ने योजना रहेको उहाँको भनाई छ । विस्थापित भएको गाउँबाट सुरक्षित स्थानमा तत्काल स्थानान्तरण नगरे पहिरोले गाउँ नै बगाउने सम्भावना रहेको कुलुङले जानकारी दिनुभयो । यस बर्ष बर्षातको समय सकिएपनि आगामी हिउँदमा वडा नम्बर तीन ताम्कुको याचाम्खा र साप्तेल टोलवासीलाई स्थानान्तरण गरिसक्नु पर्ने बाध्यता रहेको बताईएको छ ।
पहिरोको कारण सडक, गोरेटो, पुल, सिंचाई, खानेपानी लगायतमा ठुलो क्षति पुगेको छ । पहिरोको कारण दुई करोडको लागतमा निर्मित पांतिमा सिंचाई योजनामा क्षति पुगेको छ । त्यस्तै, वडा नं. २ र ३ वारपार गर्ने सङ्खुवा खोलाको एक सय ५० मिटर पुल पहिरोले बगाएपछि आवतजावत बन्द भएको छ । वाउँठाउँमा गएको पहिरोले सडक अवरुद्ध भएको छ भने विभिन्न स्थानमा गारेटो बाटो बगाउँदा समस्या परेको गाउँ कार्यपालिका सदस्य विनोद मेवाहाङले जानकारी दिनुभयो ।
भौगोलिक हिसावले वडा नम्बर तीनको याचम्खा र साप्तेल पहिरोको बढी जोखिम रहेकोले त्यस क्षेत्रमा बढी क्षति पुगेको मेवाहाङको भनाई छ । सिलिचोङको पाँच वडाहरु मध्ये १ र ५ नम्बर वडाहरुको क्षति बिवरण आईनसकेकोले क्षति बिवरण बढ्ने उहाँले बताउनुभयो । बाँकी दुई वडाहरुमा भने तुलनात्मक रुपमा कम क्षति पुगेको गाउँपालिकाको दावी छ ।
गोरखापत्रबाट
प्रतिक्रिया